बागमती नदी महोत्सवको २४औं संस्करण मनाइने

Image

काठमाडौं – नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न निजी, सरकारी तथा सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा  बागमती नदी महोत्सवको २४ औं संस्करण मनाइने भएको छ । नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने यस अभियानले साढे दुई महिनासम्म हरेक हप्ता नदी सरसफाई, पर्यावरणीय संरक्षण, कला, साहित्य, तथा संस्कृती झल्काउने कृयाकलापहरु, नदीमा र्याफ्टिङ र जल पर्यटनको सम्भावना उजागरण गर्ने विभिन्न कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम काठमाडौं र ललितपुर महानगरपालिकाको स्वामित्वका साथै विभिन्न कलाकार र अभियान्ताको सहयोग तथा समन्वयमा आयोजना गरिने बताइएको छ । अभियानअन्तर्गत  भदौको पहिलो शनिवार सांस्कृतिक तथा सांगीतिक कार्यक्रम , खाना महोत्सव, बन्धुत्व र्याफ्टिङ लगायत विभिन्न कृयाकलाप गरी महाजलजात्र कार्यकमसहित यस वर्षको महोत्सव समापन गरिने बताइएको छ।

सांस्कृतिक, धार्मिक, समाजिक, ऐतिहासिक र आर्थिक महत्व बोकेको बागमती नदी काठमाडौं सभ्यता र सहरीकरणको जग मानिन्छ। शिवपुरीको बागद्वारबाट सुरु भएर, विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर हुँदै भारतको पवित्र नदी गंगासम्मको यात्रामा बग्ने बागमती नेपालकै सबैभन्दा पवित्र र पुरानो नदी मानिन्छ। आफ्नो अविरल यात्रामा कैयौंको आस्थालाई जिवन्त पार्दै खोला किनाराका समुदायहरुको जिविकोपार्जनमा पनि परापूर्व कालदेखि ठूलो भूमिका खेलिरहेको यो नदी एकाइसौं सताब्दीमा भने प्रदुषणले दुर्गन्धित भएको अभियानको भनाइ छ ।

साथै नदी किनारामा अव्यवस्थित वस्ति, व्यक्तिगत, कृषि र व्यावसायिक फोहोरको थुप्रो, नदी अतिक्रमण, अव्यवस्थित ठोस फोहोर, अप्रशोधित ढल इत्यादीले नदी सुक्दै र प्रदुषित हुँदै गइरहेको बताइएको छ।

विशेष गरी हिन्दु र बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मानिने हाम्रो बागमती यस अवस्थामा पुग्नुको कारण बढ्दो सहरीकरण, काठमाडौंवासीको लापरवाही, नीतिगत व्यवस्था तथा कार्यन्वयनमा कमजोरी र सरसफाईमा चासो नहुनु नै हो। जैविक विविधताको दृष्टिकोणले समेत महत्वपुर्ण यस नदिको संरक्षणका लागी तीन दशक देखि विभिन्न प्रयासहरु गरिएको भएतापनि हालसम्म कुनै दिगो प्रभाव भने देखिएको छैन् ।

समस्या समाधानका लागी समय सापेक्ष कृयाकलाप तथा जनचेतनामूलक कार्यक्रमहरुको आवश्यकतालाई मध्यनजर गर्दै वागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्दन गर्ने मुख्य उद्देश्यका साथ एकाईसौं शताब्दीको महोत्सवको रुपमा बाग्मती नदि महोत्सव सुरुवात गरिएको अभियानको भनाइ छ ।

नेपाल नदी संरक्षण संस्थाले २००१ देखि सुरु गरेको यस गैर मुनाफामूलक कार्यकम बागमती नदीको संरक्षणमा केन्द्रित वृहत्तर जनचेतानामुलक अभियान भएको बताइएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१÷८२ मा बागमती सफाई र सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरेको छ ।

 

Tags: