साँच्चै आउलान् ? आगामी आर्थिक  वर्षमा १६ लाख विदेशी पर्यटक पुर्‍याउने सरकारी लक्ष्य

Image

काठमाडौं – सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस्तो घोषणा गरिएको हो । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यससँगै उक्त वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको थियो । यद्यपि सरकारले आगामी वर्ष हालको सङ्ख्याको दोब्बर अर्थात् २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा भने १६ लाख पर्यटक भित्र्याउने उल्लेख गरिएको छ । 

कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको छ । सन् २०२४ को सुरुआती महिनादेखि निरन्तर विदेशी पर्यटक आगमन वृद्धि भइरहेको छ । पछिल्लो मे महिनामा मात्रै एक लाख ११ हजार विदेशी पर्यटक नेपाल आएका छन् । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चिएको थियो ।
     
पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्न मार्गचित्र बनाउने, पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने लक्ष्य लिइएको छ । भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने लक्ष्य लिएको सरकारले सीमावर्ती जिल्लामा यस्तो अभियान चलाउने योजना बनाएको छ ।

संस्कृति मन्त्रालयका लागि झण्डै १२ अर्ब

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि झण्डै रु १२ अर्ब बजेट विनियोजन गरेको छ । बजेटमा पर्यटन मन्त्रालयका लागि रु ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोे हो । नेपाल वायुसेवा निगमको व्यवस्थापन सञ्चालन करारमा लैजाने र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने अर्थमन्त्री पुनले बताउनुभयो ।
     
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने बजेटमा समेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको काम सुरु गरिने र भरतपुर विमानस्थल आगामी वर्षभित्र सम्पन्न गर्ने बजेटमा घोषणा गरिएको छ ।
 

Tags: