ग्लोबल आइएमई बैंकको ५.५ प्रतिशत लाभांश पारित

Image


काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०÷८१ को सञ्चित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ५ दशमलव ५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको बताइएको छ ।

बैंकले आर्थिक वर्ष २०८०÷८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।

ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको बताइएको छ । बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ ।

 

Tags: