गरिमा विकास बैंकले ‘गरिमा रोड रेस कम्पिटिसन– २०८१’ गर्दै
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिटिसन– २०८१’ गर्ने भएको छ । बैंकले खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रेस आयोजना गर्ने भएको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी चारओटा प्रतिस्पर्धा हुनेछन् ।
खुलातर्फको १० किलोमिटर रेसमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर रेसमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीले मात्र सहभागिता जनाउन सक्नेछन् । रेसको महिला र पुरुषतर्फको गरी चारओटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हुने प्रतिस्पर्धीलाई क्रमश रू. ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाइट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिने बताइएको छ ।
मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको बैंकले सो अवसरमा काठमाडौंमा रेससहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्ने बताएको छ । बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।