इन्जिनियर्स एसोसिएसन (एनईए)को अध्यक्षमा नन्दलाल बन्जाडेको उम्मेद्वारी

Image

बुटवल– देशभरका इन्जिनियरहरूको छाता संगठन इन्जिनियर्स एसोसिएसन (एनइए) को अध्यक्षमा रुपन्देहीका इञ्जिनियर नन्दलाल बन्जाडेले उम्मेद्वारी दिएका छन् । भदौ २८ गते हुने एनईएको ३४ औं कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्षमा बन्जाडेले उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा बन्जाडेसहित ६ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक इञ्जिनियर डा. पवनकुमार भट्टराईले बताए ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा बन्जाडेसहित राजेन्द्र प्रसाद हाडा,  रामेश्वर प्रसाद कलवार, विष्णु प्रसाद पाण्डे, दीपक श्रेष्ठ र सुबास चन्द्र बरालको उम्मेद्वारी परेको छ । एकीकृत समाजवादी सम्बद्ध समाजवादी इन्जिनियर्स एसोसियसन नेपाल (सीन)का तर्फबाट बन्जाडेको उम्मेद्वारी परेको हो । बन्जाडेले इञ्जिनियरहरूको संस्थालाई सकभर सहमतीय नेतृत्वका लागि पहल गरिएपनि त्यो सम्भव नभएपछि अन्ततः निर्वाचनको मैदानमा उत्रिएको बताए ।

इञ्जिनियरहरूका बीचमा साझा जस्तै रहेका बन्जाडेले इञ्जिनियरहरूको हकहित र राष्ट्र निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । २०७५ सालमा बागमती प्रदेशको पहिलो अध्यक्षमा निर्वाचित भइसकेका बन्जाडेले केन्द्रीय कार्यकारीणी अध्यक्ष बनेर इञ्जिनियर्स एसोसिएशनको नेतृत्व गर्न मैदानमा होमिएको बताए ।

यसअघि बागमतीको अध्यक्षमा पराजित भएका सुभाषचन्द्र बराल नै बन्जाडेका अहिलेका पनि मुख्य प्रतिस्पर्धी हुन् । उनी नेपाली काँग्रेस निकट सिडेनका हुन् । ६२ वर्षअघि २०१९ सालमा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसनमा निरन्तर सीडेनको पकड थियो ।

३२औं केन्द्रीय कार्यकारिणी निर्वाचनमा एमाले र माओवादी मिल्दा पीनले अध्यक्ष र नियोनले महासचिव जितेका थिए । ३३औं निर्वाचनमा सबैले अलग अलग उम्मेदवारी दिएका थिए । यो पटक वामपन्थी इञ्जिनियरबीच तालमेल गर्ने भनिएपनि अन्तत पीन र नियोनबीच नेतृत्वमा सहमती नभएपछि छुट्टाछुट्टै निर्वाचन हुने भएको हो । ‘हामी सकभर सहमतीमै नेतृत्व बनाउने, त्यो पनि नभए वामपन्थीहरुविच एकता हुनुपर्छ भन्नेमा थिया,ैं’ सिनका तर्फबाट अध्यक्षका उम्मेद्वार बन्जाडेले भने, ‘अब संस्थालाई नेतृत्व गर्ने र इञ्जिनियरहरुको पेशागत हकहित र राष्ट्र निर्माण गर्न म मैदान उत्रेको छु ।’ उनले इञ्जिनियरहरूले आफूलाई साथ दिने विश्वास व्यक्त गरे ।  

इन्जिनियरिङ कलेजबाट स्नातक(बी.ई) गरेर इन्जिनियरिङ परिषद्बाट लाइसेन्स प्राप्त इन्जिनियरहरू यस संस्थाको सदस्य हुन पाउने प्रावधान छ । २८ भदौमा काठमाडौं, विर्तामोड, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी गरी १४ स्थानमा मतदान केन्द्र रहनेछन् । निर्वाचन समितिले प्रकाशन गरेको केन्द्रीय प्रारम्भिक सूचीअनुसार अध्यक्षमा ६, उपाध्यक्षमा ७, महासचिवमा ६ तथा उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा ७÷७ जनाले उम्मेदवारी दिएका छन् । १२ सदस्य पदका लागि ७४ जनाले उम्मेदवारी दिएका छन् ।

 

Tags: