इक्यान शैक्षिक मेला असोज १६ मा, सम्पूर्ण तयारी पूरा

Image

काठमाडौं, असोज १५ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा हुने ’इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ को सम्पूर्ण तयारी पूरा भएको छ। असोज १६ गते बानेश्वरको एभरेष्ट होटलमा विहान १० बजे देखि वेलुका ५ बजेसम्म सञ्चालन हुने  इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।

अध्यक्ष भट्टराईले विद्यार्थीहरूलाई विदेश अध्ययनबारे एकै थलोबाट विस्तृत जानकारी दिनु र सही परामर्श दिनु यस मेलाको प्रमुख उद्देश्य भएको बताए।  मेलामा विद्यार्थी र अभिभावकहरूले विभिन्न देशका शैक्षिक संस्थानहरूसँग प्रत्यक्ष सम्पर्कमा आई अध्ययन अवसरबारे जानकारी प्राप्त गर्न सक्नेछन्। 

यस मेलामा १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया लगायतका मुलुकका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूले मेलामा आफ्ना शैक्षिक कार्यक्रम, छात्रवृत्ति र अन्य सुविधाबारे जानकारी गराउनेछन्।

मेलाको व्यवस्थापन ‘वन अप प्रालि’ ले गर्नेछ भने टाइटल स्पोन्सरको रूपमा रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी रहेको छ। वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले यस मेलामा सहकार्य गरेको छ।

असोज १३ गतेका लागि तय गरिएको मेला अविरल वर्षाका कारण सारेर असोज १६ मा गरिने भएको हो। भट्टराईले सबै विद्यार्थी र अभिभावकहरूलाई मेला अवलोकन गरी वैदेशिक अध्ययनबारे आवश्यक जानकारी लिन आग्रह गरेका छन्।
 

Tags: