कीर्तिशेष वेणीमाधव गुरु

Image

प्रा.डा. वेणीमाधव ढकाल केही दिन अघि महाप्रस्थान गर्नुभयो । मैले वि.सं. २०६० सालमा रुरु संस्कृत विद्यापीठमा अध्ययन गर्दैगर्दा हातमा परेको काव्यदीपिका ग्रन्थको अनुवादकको रुपमा यौवनकालको तस्वीरमा प्रथमपटक दर्शन दिनुभएका प्रा.डा. वेणीमाधव ढकाल गुरुले अब भौतिक दर्शन दिनुहुनेछैन । विद्वता र विनम्रताका एकीकृत स्वरुप गुरुले वि.सं. २०८१ वैशाख १८ गते आफ्नो नश्वर शरीर त्याग गरी अनन्त बैकुण्ठयात्रामा लाग्नुभयो । श्रीमद्भागवत सप्ताह यज्ञमार्फत् शास्त्रीयविधिले भागवतकथा श्रवण गरी आम शिष्य एवं मुमुक्षुहरुलाई आफ्नो श्रीमद्भागवतमहापुराण नेपाली भाषा अनुदित कृति प्रदान गरेर एक हप्तामै उहाँले बैकुण्ठ गमन गर्नुभएको छ । जन्मेपछि मृत्यु स्वभाविक हो । ‘न हन्यते हन्यमाने शरीरे’को सिद्धान्तलाई सहस्र अंगीकार गर्ने हामीले गुरुको नश्वर शरीरको त्यागलाई स्वभाविक मान्नैपर्छ ।


ऋब्दिकोट गाउँपालिका – ६ पौरखनी, पाल्पामा वि.सं. २००६ वैशाख २६ गते सज्जन व्यक्तित्व चुडामणि ढकाल र माता दिव्यलक्ष्मीदेवीका कोखमा दोस्रो सन्तानका रुपमा वेणीमाधव ढकालको जन्म भएको थियो । नेपालको पश्चिमी भेगका सर्वमान्य पण्डित स्थानेश्वर नेपाल, मीनप्रसाद नेपाल र माधवप्रसाद देवकोटाका छत्रछाँयामा आफ्नो बाल्यवयको औपचारिक अध्ययन पूरा गर्नुभएका प्रा.डा. ढकालले गुरुहरुकै प्रेरणा र मार्गनिर्देशनमा औपचारिक शिक्षा ग्रहण गर्न ऋषिकेश प्रस्थान गर्नुभएको थियो ।

ऋषिकेशबाट पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री तथा आचार्य परीक्षा उत्तीर्ण गर्नुभएका प्रा.डा. ढकालले भारतकै ऋषिकेशमा समेत अध्यापन गर्नुभएको थियो । साहित्य र सर्वदर्शन विषयमा आचार्य उत्तीर्ण गर्नुभएका गुरुले नेपाल सरकारको अनुसन्धान अधिकृतको रुपमा समेत काम गर्नुभएको थियो । गुरुले नेपाल संस्कृत विश्वविद्यालयबाट लिच्छविकालीन अभिलेखहरूको साहित्यिक अनुशीलन शीर्षकमा विद्यावारिधि समेत गर्नुभएको थियो ।  

होचो कद,पावरवाला चस्मा, शिरमा टोपी, हातमा कालो झोला झुण्ड्याएर केही सोचेजस्तै लयमा प्रायः देखिनुहुने गुरु शिष्यहरुबीच निकै नै प्रिय र आत्मीय हुनुहुन्थ्यो । निरन्तर कलम समाएर लेखिरहने हुँदा उहाँका हातका चोर,माझी र बुढीऔंलाहरुमा गाँठा देखिन्थे । वाल्मीकि विद्यापीठको पुस्तकालयमाथिको कोठामा बसेर पढाउने गुरु आफ्ना मन मिलेका मानिसहरुसँगको मनोविनोदमा पनि उत्तिकै प्रिय हुनुहुन्थ्यो ।

मेरो व्यक्तिगत जीवनमा गुरुको पूर्णतः प्रभाव परेको छ । जीवनका कुनै मोडमा बाटो अल्मलाएको अवस्थामा हात समातेरै सही मार्गनिर्देशन गर्नुहुने पूज्य गुरु प्रा.डा. वेणीमाधव ढकाल र प्रा. माधवराज गौतमज्यूप्रति म आजन्म ऋणी छु । एउटा अन्धकारमा रुमलिएको पथिकलाई मार्गनिर्देशन गर्ने मानिस वास्तवमै महान् हुन्छ । उँहाले मेरो विद्यावारिधिको शोधलेखन एवं निर्देशनमा गरेको सहयोग अविस्मरणीय रहेकोछ । उँहाको सामिप्यता प्राप्त गरेकोमा मलाई अत्यन्तै गर्वको महशुस हुन्छ । उहाँको सत्संगमा उहाँले सुनाएका राष्ट्रगुरु योगी नरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्य र माता भुवनेश्वरीका प्रस∙हरु मानसपटलमा गुञ्जिएका छन् ।

प्राध्यापनसँगै उहाँले शैलेश खण्डकाव्य, पृथूदय महाकाव्यम्, अर्जुन खण्डकाव्य, रश्मिप्रभास खण्डकाव्य आदि विभिन्न साहित्यिक कृतिको रचना गर्नुभयो । साथै उहाँले धर्मविज्ञान, ब्रह्मसूत्रशाङ्करभाष्यम्, हिमवत्खण्ड, श्रीगणेशपुराण, निर्णसिन्धु, आह्निक सूत्रावली, शिवपुराण, श्रीमद्भागवतमहापुराण,
हरिकेलिनवनीतम्, काव्यदीपिका, कार्तवीर्योदयमकरन्द लगायत अन्य संस्कृतभाषाका महत्त्वपूर्ण ग्रन्थहरूको सरल, सुबोध्य नेपाली भाषामा अनुवाद पनि गर्नुभएको छ । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित गरिएका संस्कृत नेपाली कोश, कर्मकाण्ड भास्कर, श्रीरामचरितम् लगायतका विभिन्न ग्रन्थको सम्पादन मण्डलको संयोजकमा रहेर काम गर्नुभएको छ । नेपाल महात्म्य, पशुपति पुराण र गण्डकी महात्म्य समेटेर नेपाली भाषामा तयार पारिएको १६ सय पृष्ठको हिमवत्खण्ड ग्रन्थको नेपाली भाषामा अनुवाद गर्नुभएका प्रा. डा. ढकालको निधनले साँच्चै नै वैदिक सनातन परम्परामा आघात भएको छ ।

तीनधारा संस्कृत छात्रावासको सुपरिवेक्षक, ने.सं.वि.अनुसन्धान परिषद्को निर्देशक एवं नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको दुई कार्यकालसम्म अध्यक्ष समेत भएर प्रशासनिक दक्षता समेत प्रदर्शन गर्नुभएका गुरु साँच्चै नै कर्मनिष्ठ हुनुहुन्थ्यो । विद्वता, सहजता र सरलताका प्रतिमूर्ति पूजनीय मुक्तात्मालाई श्री पशुपतिनाथको नित्य सान्निध्य प्राप्त होस् भनी भगवानसँग  देहविमुक्त कीर्तिशेष गुरुज्यूको सायुज्य मोक्षको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।

 

Tags: