लुम्बिनी विकास कोषले बेवास्ता गरेको भन्दै व्यवसायीको बिरोध
काठमाडौं – लुम्बिनी विकास कोष अन्तर्गतका परियोजनामा बजेट निकासामा भएको ढिलाइले निर्माण व्यवसायीलाई ठूलो आर्थिक संकटमा पुर्याएको व्यवसायीले बताएका छन्। व्यवसायीका अनुसार चाडपर्वको मुखमा मजदुर र सामग्री आपूर्तिकर्तालाई भुक्तानी दिन नसक्दा विरोधका कार्यक्रम शुरू गर्न बाध्य बनाएको हो।
व्यवसायीले कोषका अध्यक्ष ल्हारक्याल लामा सहित परियोजना प्रमुख र अन्य सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाए पनि कुनै ठोस सुनुवाई नभएको गुनासो गरेका छन्। एक व्यवसायीले भने, ‘पटकपटक मौखिक आश्वासनमात्र दिइन्छ तर कुनै ठोस काम भएको छैन, जसले गर्दा हामीले परियोजनाका काम रोक्न बाध्य भएका छौं।’
मन्त्रालयबाट बजेट निकासा भइसकेको भनिए पनि आन्तरिक विवाद र कोषको लापरवाहीका कारण भुक्तानी रोकिएको व्यवसायीको भनाइ छ। विशेष गरी, ल्हारक्याल लामाले लुम्बिनीमा उपस्थित भएर फाइलमा सही गर्नुपर्नेमा काठमाडौंमा बसेर कोषको खातामा गएको रकम फिर्ता गराउन प्रयास गरेकोले अहिलेको परिस्थिति उत्पन्न भएको उनीहरूको आरोप छ।
लुम्बिनी विकास कोष अन्तर्गतका परियोजनाहरूलाई राष्ट्रिय गौरवका रूपमा मान्यता दिइए पनि भुक्तानी प्रक्रियामा भएको अत्यधिक ढिलाइले परियोजनाहरू संकटमा परेको छ। व्यवसायीहरूले यसले परियोजनाको समग्र प्रगतिमा नकारात्मक असर पार्ने भन्दै तत्काल समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
स्रोतका अनुसार व्यवसायीहरू अब चरणबद्ध विरोधका कार्यक्रमहरू सुरु गर्न बाध्य भएकोले यसले लुम्बिनीमा चलिरहेको विकास निर्माणमा थप असर पुर्याउन सक्ने संकेत देखिएको छ।