लायन्सको सक्रियता : दशैंमा पाए सेतीदेवीका विद्यार्थीले पोशाक
काठमाडौं – नुवकोटको विदुर नगरपालिका–११ गेर्खुमा रहेको सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थीले स्कुल पोशाक पाएका छन्। लायन्स क्लब अफ नुवाकोट क्यापिटल लगायत १५ वटा क्लबको संयुक्त आयोजनामा विद्यालयमा अध्ययनरत १५६ जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ।
मानवीय सेवा र सामाजिक कार्यक्रमअन्तरगत सेवाभावले उक्त स्कुल सामग्री वितरण गरिएको बताइएको छ । विद्यालयमा एक ओैपचारिक कार्यक्रमबीच पोशाक वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद रिमालले लायन्स क्लबबाट आएका अतिथिलाई स्वागत गर्दै स्कुलको अवस्था बारे बताएका थिए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थी संख्या बढाउन स्थानीयलाई सहयोग गर्न उनले आग्रह गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका फस्ट डिस्ट्रिक्ट भाइस गभर्नर पार्वती खरेल पाण्डेले विश्वभरि लायन्स क्लबका सदस्य मानवीय सेवामा जुटिरहेको बताइन्। कार्यक्रममा डिसेट्रिक्ट कोर्डिनेटर अनुजकुमार श्रेष्ठले ‘मानवीयता, पहिलो प्राथमिकता’ भन्ने अवधारणाअनुसार आर्थिक अवस्था कमजोर भएका बस्तीमा रहेको विद्यालयमा भएको कारण पोशाक सहयोगको लागि यहाँ लायन्स आइपुगेको बताए । अब स्कुलको समग्र विकासको निम्ति निरन्तर सेवामा जुट्ने उनको प्रतिवद्धता थियोे।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं धर्मस्थलीका प्रेसिडेन्ट राजेन्द्र श्रेष्ठ , लायन्स क्लब अफ काठमाडौं लक्ष्यका प्रेसिडेन्ट सविना श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं परोपकारका अध्यक्ष नवराज पाण्डे, लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणका अध्यक्ष किरण श्रेष्ठ, नुवाकोट क्यापिटलका अध्यक्ष केशव मिश्र, नुवाकोट आदर्शका अध्यक्ष अम्बिका पौडेलको उपस्थिति थियो।
कार्यक्रममा डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर महेश पाण्डे, डिस्ट्रिक्ट एक्जुकेटिभ राजु चालिसेले लायन्स क्लबको उद्देश्यबारे मन्तव्य राखेका थिए । विदुर ११ नम्बर वडाका वडा अध्यक्ष बाबुराम लामा, स्थानीय समाजसेवी नारायण घिमिरे, ध्रुब तिमिल्सिना, हरिवोल न्यौपाने तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो। विद्यालय प्रशासनका अनुसार पोशाक वितरण कार्यक्रम स्थानीय समाजसेवी डिल्ली प्रसाद तिमिल्सिनाको पहलमा भएको हो।