जापानीज भाषा वक्तृत्व प्रतियोगिता गर्दै जलसान
काठमाडौं । जापानीज भाषा स्कूल एसोसिएसन अफ नेपाल (जलसान)ले आगामी फागुन १० गते (फेब्रुअरी २२, २०२५) मा ‘१०औं जापानीज भाषा वक्तृत्व प्रतियोगिता’ आयोजना गर्ने भएको छ।
जलसानका अध्यक्ष रमेश देवकोटाका अनुसार यो प्रतियोगिता विद्यार्थीहरूलाई जापानीज भाषा र संस्कृतिको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो।
देवकोटाले भने, ‘यो प्रतियोगिता जलसानका सदस्य विद्यालयहरूका लागि एउटा महत्वपूर्ण अवसर हो। विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने क्षमताको विकास गराउन हामी प्रतिबद्ध छौं। हामी सबै सदस्य संस्थाहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दछौं।’
प्रतियोगितामा एक कन्सल्टेन्सीबाट एकजना विद्यार्थीले मात्र सहभागिता जनाउन सक्ने बताइएको छ । प्रतियोगितामा सहभागीमध्ये प्रथम, द्वितीय र तृतीय स्थान गर्ने विद्यार्थीलाई उचित पुरस्कारको व्यवस्थापन समेत गरिएको संस्थाले जनाएको छ। यसले विद्यार्थीहरूलाई भाषा र प्रस्तुतीकरण कलाको विकासमा थप प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गरिएको छ।
जलसानले सबै सदस्य कन्सल्टेन्सी र स्कूललाई प्रतियोगिताका लागि प्रतियोगी पठाउन अनुरोध गरेको छ। अध्यक्ष देवकोटाले प्रायोजनको निम्ति जापानसँग राम्रो सम्बन्ध भएका संस्थाहरूसँग समन्वय गर्न सदस्यहरूलाई आग्रह गर्दै भने, ‘हामीले यसपटक १० औं संस्करणमा पुगेको यो प्रतियोगिता थप प्रभावकारी बनाउन जापानसँग सम्बन्धित स्कूल र संस्थाहरूसँग सहकार्यको आवश्यकता देखेका छौं। तपाईंहरूका सल्लाह र सहयोगले यो कार्यक्रम अझ सफल हुनेछ।’
आवेदन फारम बुझाउने अन्तिम मिति — माघ १२, २०८१ (जनवरी २६, २०२५) तोकिएको छ। फारमहरू स्क्यान गरेर jalsannepal@gmail.com मा पठाउन अनुरोध गरिएको छ।
जलसानमा हाल ७२ वटा कन्सल्टेन्सी सदस्य रहेका छन्, जसले जापानी भाषाको प्रवद्र्धन र विद्यार्थीहरूको शैक्षिक अवसरहरू बढाउन कार्यरत छन्। महासचिव अरुण पाण्डेले सम्पूर्ण सदस्यहरूलाई यस महत्वपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।