असुरक्षित बंगाली हिन्दु, सरकारी सल्लाहाकारले मागे माफी

Image

काठमाडौं – आन्दोलनबाट सत्ता हस्तान्तरण भएको बंगलादेशमा निवर्तमान प्रधानमन्त्री शेख हसिनाले सत्ता छाडे पछि बंगलादेशका हिन्दु निशानामा परेका छन्। बंगलादेशमा मन्दिरमा तोडफोड र हमला बढ्दै गए पछि आफूहरु असुरक्षित भएको भन्दै हिन्दु धर्मालम्बीहरु सुरक्षाको माग गर्दै सडकमा आएका छन् ।

यसैबीच बंगलादेशको अन्तरिम सरकारका गृह सल्लाहाकार एम सखावत हसैनले अल्पसंख्यक हिन्दु समुदाय माथि भएको हमला र असुरक्षाको अवस्था प्रति माफी मागेका छन् ।

उनले भने, ‘अल्पसंख्यक हिन्दु समुदायलाई सुरक्षा दिनु हाम्रो दायित्व हो, सुरक्षाका सवालमा कहाँ चुकिरहेको छ, सरकारले यसको जवाफ दिनुपर्छ ।’
उनले अल्पसंख्यकको रक्षा गर्नु धर्मको हिस्सा भएका बताएका छन् । उनले भने, ‘म अल्पसंख्यक भाइहरुसँग माफी माग्छु, अहिले मुलुक अराजकताको अवस्थाबाट गुज्रिएको छ, प्रहरी आफै सही अवस्थामा छैन, सबैसँग आग्रह गर्छु हामी उनीहरुको रक्षामा जुट्नुपर्छ ।’

बंगलादेशमा हिन्दु धर्मालम्बीको संख्या जनसंख्याको झण्डै ८ प्रतिशत अथवा १ करोड ३५ लाख भएको सरकारी तथ्यांक छ तर हिन्दुहरुले आफूहरु १० प्रतिशतभन्दा बढी भएको दाबी गर्दै आएका छन् । बंगलादेशमा हिन्दुहरु माथि पटक पटक हुँदै आएका हमलाको कारण हिन्दु जनसंख्या घट्दै गएको छ । सन् १९५१ मा २२ प्रतिशत हिन्दु भएको तथ्यांक थियो । जमात–ए–इस्लामी जस्ता संगठनले गरेको हमलाका कारण हिन्दुहरु पलायन भएको बताइएको छ । एजेन्सी

 

Tags: