कृषिलाई व्यावसायिक बनाउने गरी कृषि विकास रणनीति परिमार्जन गर्नुपर्छ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन्। मुलुक संघीयतामा जानूअघि लागू गरिएका रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्ने मन्त्री अधिकारीले बताए। कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिविकोपार्जनका लागि कृषि कर्म गर्नेलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।
मन्त्रीअधिकारीले संघीयता लागू भैसकेपछी कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन नसकिरहेको बताए। कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए।
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाबीच छलफल गरि सुझाव लिएको छ । पूर्वसचिव गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।