स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

Image

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।

मन्त्री पौडेलले भने, ‘हामीले साधन स्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरिद गर्नसक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता  महत्वपूर्ण प्रयास रहेको छ ।’
     
अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताए । ‘मर्मत र अरु ढंगले उपयोगमा ल्याउन नसकिने सामाग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्न जरुरी छ । त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको हो’, उनले भने ।

 मुलुकको प्रसिद्ध र स्थापित संस्था तथा विश्वास आर्जन गरिरहेको नेतृत्वलाई मन्त्रालयको महत्वपूर्ण कामको जिम्मेवारी दिन पाएकामा खुशी व्यक्त गर्दै मन्त्री पौडेलले सहकार्यको संस्कारले स्वदेशी संस्था र जनशक्तिलाई राज्यले विश्वास गरेको देखिने बताए ।

 सो अवसरमा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए । उनले भने , ‘यो जिम्मेवारी भनेको संघीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी एकिन गर्ने हो ।’

ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी एकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।

 ‘स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठूलो जिम्मेवारी दिएको छ’, अध्यक्ष पुनले भने, ‘हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ । उपकरणलाई ठिक अवस्थामा राख्न सकिए  धेरैको ज्यान बचाउन सकिन्छ । लाखौँ नागरिकले यसको सेवा लिनसक्छन् । त्यसैले यो सानोतिनो जिम्मेवारी होइन ।’

 केन्द्रले क्षमताले भ्याएसम्म इमान्दारिपूर्वक कुनै छलछाम नगरीकन राष्ट्र र जनताको सेवा गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष पुनले नौलो र बृहत् क्षेत्र भएपनि विगतका अनुभवले काम पुरा गर्ने विश्वास व्यक्त गरे ।

Tags: