कृषि विकास बैंकद्वारा निर्जला आधारभूत विद्यालयलाई सहयोग
काठमाडौं – कृषि विकास बैंकले तनहुँको भानु नगरपालिका–८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयलाई स्यानीटरी प्याड तथा सोको भेण्डिङ मेशिन लगायत विविध शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत छात्राको नियमित पठनपाठनमा सहजताको लागि बैंकले उक्त सामग्री सहयोग गरेको बताइएको छ ।
काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले बैंकको संस्थागत सामाजिक उत्तरदायिŒवअन्तर्गतको सहयोगमा उक्त सामग्री वितरण गरेको बताइएको छ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बिबिए अध्ययनरत उन्नती जोशी, समिक्षा घिमिरे, रोजिका थापा र आर्जु जोन्छेको सकृयतामा उक्त विद्यालयका छात्राहरुका निम्ति सो सहयोग गरिएको हो । महीनावारी अझै पनि लज्जाको विषयसँग जोडिँदै आएको र विशेष गरी ग्रामीण क्षेत्रका छात्रा महीनावारी भएको समयमा विद्यालय नजाने समस्या कायमै रहेकोले उक्त समस्या सामाधानको लागि सहयोग गरेको बताइएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरबहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आशबहादुर घिमिरे, बैंकको डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक राम चन्द्र बास्तोला, विद्यालयका शिक्षक, अभिभावक, शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता थियो ।