उपत्यकाका बाढी प्रभावितलाई मारवाडी सेवा समितिले खाना खुवाउन शुरु
काठमाडौं – मारवाडी सेवा समितिले काठमाडौं उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको हो।
राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए। उनकाअनुसार कालीमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपति लगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको हो । आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ ।
शुक्रवारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला, नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ ।