भक्तपुरका ३३ पुल, परिक्रमा कसरी गर्ने ?

Image

काठमाडौं– भक्तपुर शहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरू परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । अधिकांश रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुँदै यी पुलहरू परिक्रमा गर्न सकिन्छ ।
रुटमा सबैभन्दा बढी खेतहरू देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउँछ । खेत रहेको स्थानहरूमा, किसानहरूसँग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।

साउन ५ गतेको साइकल यात्रा
साउनको पहिलो शनिवार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट शुरू गरी यात्रा अगाडि बढाउन सकिन्छ । काठमाण्डौमा खोलामा ढल मिसाउने चलन शुरू हुन अघि साउने खोला उर्लेर आउदा माछा मार्ने परम्परा थियो । यो परम्परालाई जीवन दिनको लागि ढलको व्यवस्थापन गर्ने कार्य ढिलो गतिमा भैरहेको छ । खोला किनारमा फोहर वस्तु फाल्ने गतिबिधि कम गर्न को लागि पनि त्यहाँ साइकलको चहलपहल हुन आवश्यक छ ।

साइकल यात्राको रुटहरू
पाँचाख्य
नेवार भाषामा पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ । यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सुर्य विनायक नगरबाट बग्दै आएको खोलाहरूको संगम हनुमानघाटमा पनि छ । यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ । यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउन पर्ने स्थानीयको माग रहेको छ । यहीबाट शहरका विभिन्न स्थाल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाडौं र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट साइकल यात्रा शुरू गर्दा पनि हुन्छ ।


पाँचाख्यदेखि थिमी पुलसम्म
पाँचाख्यबाट साइकल यात्रा शुरू गरे पछि हनुमन्ते खोलामा भक्तपुर शहर र सुर्यबिनायक क्षेत्रबाट खोल्सीहरू मिसिन आउँछ । यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरू हुँदै यात्रा थिमि स्थित पुलमा पुग्न सकिन्छ । यस क्रममा झटकिला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका स्थानबाट खोल्साहरू हनुमन्तेमा मिसिन्छ ।

थिमीदेखि सल्लाघारी
थिमीको पुल पुगेपछि भने हुनमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटो हुँदै निकोसेरा हुँदै सल्लघारी पुगिन्छ । यो स्थानमा फोहर पानी प्रसोधन गर्ने केन्द्र छ । तर हाल यो सञ्चालनमा छैन ।

सल्लाघारीदेखि टाउन प्लालिङ
सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुँदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा केही नाम चलेका स्कूलहरू देख्न सकिन्छ ।

डेकोचादेखि वन्तीसम्म
यहाँबाट अगाडी जाने ४ वटा विकल्पहरू छन् । पहिलो विकल्प दक्षिण तर्फको पीच रोड हुँदै वन्ती पुग्ने होे । दोस्रो र तेस्रो विकल्प खोलाको दायाँ र बाँया तिरमा रहेका गोरेटो बाटोमा साइकल डोर्याउँदै खोलाको मज्जा लिनु हो । चौथो विकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुँदै वन्ती पुग्ने हो ।

वन्तीदेखि छालिङ पुलसम्म
वन्ती पुगे पछि पनि दुइ वटा विकल्प छन् । एउटा विकल्पको खोलाको किनारा हँुदै बाटोमा काडा हटाएर छालिङ पुग्ने हो । अर्को भने साइकलमा कच्ची बाटो हुँदै छालिङ पुल पुग्न सकिन्छ ।

छालिङदेखि महादेवखोला पुल
छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुँदै, यातु महादेव हुँदै महादेव खोला पुल पुग्न सकिन्छ । अर्को चाँही खोलाको तिर भन्दा अलि पर बनेको कच्ची बाटो हुँदै चाँगु नगरपालिकको कार्यालय परिसर पुग्न सकिन्छ । यहाँबाट खरीपाटी विद्युत् तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।

महादेवखोला पुलदेखि ब्रम्हायणी पुल
महादेव खोलाको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रम्हायणी पुगिन्छ । यहाँबाट कमलविनायक टाउन प्लालिङ लगायतका स्थानहरू देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भैरहेको हुन्छ ।

ब्रम्हायणीदेखि मल कारखाना
ब्रम्हायणीदेखि खोलाको किनारामा शहर विकास गरिएकोले बाटो व्यवस्थित छ । यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ कलेज र मल कारखाना देखिन्छ । नयाँ बनेको शहरमा पुरानो शहरको परम्पगरात उद्योगहरू सारिएका छन् । धौ, काष्ठकला, धातुकला, मुर्तिकला, माटोको भाडा बनाउने शिल्पीहरूको बसोबास यहाँ रहेको छ ।

मलकारखानादेखि पाँचाख्यसम्म
मल कारखाना अगाडी बन्दै गरेको पुल हुँदै थुसाचाको दुवै पुल तरेपछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुल पुगिन्छ । यहाँबाट सय मिटर दक्षिण लागे पछि यात्रा शुरू गरेको पाचाख्यको पुल पुगेपछि यात्राको एक फन्को पूरा हुन्छ ।

थप गन्तव्य
यात्राको एक फन्कोपछि अरु गन्तव्यहरूमा पनि जान सकिन्छ । आवश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।

 

Tags: