भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयकमा गोष्ठी 

Image

काठमाडौं - त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा ‘सरकारी निकायमा आधिकारिक भाषा प्रयोग, पुनरुत्थान र भाषिक–सामाजिक न्याय’ विषयकमा शुक्रवार गोष्ठी सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र भाषाविज्ञान केन्द्रीय विभागको व्यवस्थापनमा गर्न लागिएको अनुसन्धानको पूर्वतयारीका सन्दर्भमा गोष्ठी गरिएको हो ।
गोष्ठीलाई भाषाविज्ञान विभागका प्रा.डा. बलराम प्रसाईंले परियोजनाको ‘पृष्ठभूमि र विकासक्रम’का विषयमा जानकारी गराएका थिए । सो अवसरमा प्रा.डा. प्रसाईंले परियोजनाको विषयवस्तु गहन भएकाले चुनौतीका रूपमा रहेको औल्याए । 

परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. भीमलाल गौतमले ‘परियोजना र कार्ययोजना’ बारे सहजीकरण गरेका थिए । सात प्रदेशबाट ५ सयभन्दा बढीसँग सर्वेक्षण तथ्यांक संकलन गर्ने कार्ययोजना रहेको गौतमले जानकारी दिए । 

यस्तै तथ्यांकशास्त्री डा. दीर्घराज जोशी रेग्मीले ‘अनुसन्धान पद्धति र मात्रात्मक उपकरण’, डा. प्रेमप्रसाद पौडेलले ‘अनुसन्धान पद्धति र गुणात्मक उपकरण’, डा. हरिमाया शर्माले ‘गुणात्मक डेटाको लागि फिल्डको पूर्वतयारी’ र डा. विनोद यादवले ‘कार्ययोजनामा आधारित अनुसन्धातासँग समन्वय’ विषयमा सहजीकरण गरेका थिए । परियोजनामा भाषा विज्ञानका ‘एमफिल पिएचडी’ अध्ययनरत अनुसन्धाताद्वय शारदा सापकोटा, मोहन गुरुङ र अर्का अनुसन्धाता श्यामकुमार शाह रहेका छन् । 

परियोजनाका लागि विभिन्न शिक्षाशास्त्री, नीति निर्माता, सामाजिक अभियन्ता आदिबाट अन्तर्वार्ता र छलफल विधिबाट पनि तथ्यांक संकलन गरिने र सोही अनुसारको विश्लेषण र प्रबोधीकरण गरिने प्रमुख अनुसन्धाकर्ता गौतमले जानकारी दिए । 

यस्तै भाषा विज्ञान विभागका प्रमुख सहप्राध्यापक डा. कर्णाखर खतिवडाले अनुसन्धानले नेपालको बाहुभाषिक भाषिक व्यवस्थापनमा महŒवपूर्ण योगदान गर्ने बताए । कार्यक्रममा विभागका प्राध्यापकद्वय डा. कृष्ण चालिसे र डा. तारामणि राईले अनुसन्धाले नेपालको भाषा र भाषिकहरूको अवस्थाबारे सही अनुसन्धान हुने आशा व्यक्त गरेका थिए । अनुसन्धान अवधि साढे दुई वर्ष रहने बताइएको छ ।
 

Tags: