मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा विक्री

Image

म्याग्दी । यस वर्षको दशैंमा मुस्ताङमा रू. १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङबाट विक्री भएका आठ हजार भेडाच्याङग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा विक्री भएको हो । ‘मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्,’ उनले भने, ‘सरदर मूल्यअनुुसार रू. १६ बराबरको च्याङ्ग्रा विक्री भएका छन् ।’

गतवर्ष सात हजार भेडाच्याङ्ग्रा विक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौंलगायतका जिल्ला तथा शहरमा मुुस्ताङका भेडाच्याङ्ग्रा विक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।

जडीवुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिने भएकाले दशैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि विक्री हुने गर्छ ।

बजारमा गतवर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा रू. १० हजार कम मूूल्यमा विक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । रासस

 

Tags: