चालु खाता र शोधनान्तर स्थिति बलियो

Image

काठमाडौं – चालु खाता र शोधनान्तर स्थिति दुवैमा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्र बैंकले मंगलवार जारी गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा चालु खाता १११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५९ अर्ब ६५ करोड रुपैयाँको तुलनामा ८७ प्रतिशत वृद्धि हो। अमेरिकी डलरमा यो बचत ८३ करोड ४० लाख डलर पुगेको छ, जबकि अघिल्लो वर्ष ४४ करोड ९४ लाख डलर मात्र बचतमा थियो।

त्यस्तै, खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँमा पुग्दा प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। यसअघि अघिल्लो वर्ष सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३८ करोड रुपैयाँ थिए।

प्रतिवेदन अवधिमा शोधनान्तर स्थितिमा पनि सुधार आएको छ, जुन १८४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो १०१ अर्ब ६६ करोड रुपैयाँ मात्र थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ३८ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्षको ७६ करोड ६८ लाख डलरको तुलनामा उच्च वृद्धि देखिन्छ।

 

Tags: