बालबालिकाका लागि कोडिङ कम्पिटिसन, कसरी सहभागी हुने ?

Image

काठमाडौं – डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘डिस्कचरी एजुकेशन, एडुटेक कोडिङ कम्पिटिसन २०२४’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आइटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको बताइएको छ ।

कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनकाअनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ ।

नेपालमा यो कार्यक्रमलाई सफल पार्न एनपीसर्ट, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन, रोर्टरी क्लब अफ याला, वनकभर प्रालि, आईसीटी फ्रेम डटकम, टेक एन्टरप्रेनियर्स एसोसिएसन नेपाल, टेक ब्लगर्स लगायतका संस्थाले सहयोग गर्नेछन् ।

कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत निःशुल्क सिकाउनेछन् । योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ ।

अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडर आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ ।

यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहार प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।

‘कोडिङले बालबालिकालाई प्रविधिको संसार अन्वेषण गर्ने अवसर प्रदान गर्छ र भविष्यका करियरहरूमा उपयोगी हुन सक्ने सीपहरू सिक्न मद्दत पु¥याउँछ । यसकारण यस्ता सीपहरूको विकास प्रारम्भिक उमेरदेखि नै गरिनुपर्छ,’ दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले भने ।

उनका अनुसार डिस्कभरी एजुकेसन कोडिङ प्लेटफर्मको माध्यमबाट सहभागीहरूले एल्गोरिदम, सिक्वेन्स, भेरिएबल्स जस्ता कोडिङ अवधारणाहरूमा गहिरो ज्ञान प्राप्त गर्नुका साथै कम्प्युटेशनल सोचाइ, तार्किक विचार र समस्या समाधानको सीप विकास गर्नेछन् ।

कम्पिटिसन क्याटेगोरी

  • कक्षा २ – ५ का लागि कोडिङ प्रतियोगिता (ब्लक–आधारित कोडिङ)
  •  कक्षा ६ – ९ का लागि कोडिङ प्रतियोगिता (पाइथन कोडिङ)

इच्छुक विद्यार्थी एकल वा समूह (दुईदेखि तीन जनासम्म) रूपमा प्रतिस्पर्धाका लागि आवेदन दिनसक्ने छन् । आयोजकका अनुसार विद्यार्थीले ६ सेप्टेम्बरअघि अनलाइन रजिस्ट्रेसन गर्नुपर्नेछ ।

 

Tags: