सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’      

Image

काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीको सुविधालाई ध्यानमा राखी ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ ल्याएको छ । सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीलाई शेयर बजारमा कारोबार गर्न सघाउन यो योजना ल्याएको बताइएको छ । 

सरकारी कर्मचारीको बजारप्रतिको सकारात्मक भावनालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिन यो योजना फलदायी हुने विश्वास क्यापिटलको छ । 

यो योजनाअन्तर्गत ग्राहकले न्युनतम लगानी रकम रू. ३ लाख (नगद वा शेयर वा दुबै)बाट लगानी गर्न सक्ने बताइएको छ । वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिँदासमेत कुनै शुल्क नलाग्ने बताइएको छ ।

क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजनाअन्तर्गत १० प्रतिशत कार्य सम्पादन शुल्क लिइने बताइएको छ । योजनामा सहभागी हुन सम्पर्क गरेर वा बैंकका शाखा कार्यालयमार्पmत सम्पर्क गरी सुविधा उपभोग गर्न सकिने बताइएको छ । 

Tags: