ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरि पोखरेल, आइपिओ निकाल्दै

Image

बुटवल – ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्य निर्वाचित भएका छन्।

बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार वर्षका लागि निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक तथा वहालवाला अध्यक्ष हुनुहुन्छ भने आरम्भ चौतारी माइक्रो फाइनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक हुन् ।

साधारण सभाले आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीका उप कार्यकारी प्रमुख अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिए।

बुटवलमा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा शुरू गर्ने निर्णय पनि गरेको छ।

घुम्ती बीमा सेवाका लागि कम्पनीका नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले संयुक्त रूपमा मोबाइल भ्यानको समेत उद्घाटन गरेका हुन्।

मोबाइल भ्यानमार्फत सर्वसाधारणलाई उनीहरूकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतनासहितको सेवा कम्पनीले दिने सिइओ ढुंगानाले बताए।
गत चैत्र ९ गतेदेखि औपचारिक रूपमा बुटवलबाट सेवा शुरू गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

सेवा शुभारम्भ गरेको छोटो समयमै राम्रो कारोबार गर्न सफल यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमा, ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति र सावारीसाधन बीमा सेवा दिने गरेको छ ।

 

Tags: