रास्वपा केन्द्रीय सदस्य कार्कीको रवि लामिछानेलाई सुझाव, ‘प्रश्नदेखि नभाग्नु संसदीय छानविन समिति चाहिन्छ’

Image

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी प्रकरणमा पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेले प्रश्नबाट भाग्न नहुने बताएका छन् । सहकारीको विषयमा सभापति लामिछानेबाट फेसबुकबाट जवाफ आएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘हिजो फेरि पनि फेसबुकमा पोस्ट आएको छ । मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन । सभापतिबाट पटक पटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलन लगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि भएकै छ । तर त्यति मात्रै पुग्दो भएको छैन,’ उनको भनाइ छैन ।

मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगको निदान हुनै पर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘फलानो नेताले भनि त सक्यो भन्दैमा समाजले पत्याउँदैन, ढिस्कानो मिडिया वा पत्रकारले लेखि त सक्यो भन्दैमा पनि समाजले पत्याउँदैन, नेता र मिडिया नै आममानिसको नजरमा शंकरहित बनेको छैन । राजनीतिक दलको संक्रमणले प्रहरी प्रशासनको छानविन पनि विवादरहित हुन सकेनन् ।’

उनले सहकारीका सवालमा छानविन समिति बनाउनुपर्नेमा जोड दिएका छन् । ‘हाम्रै सभापतिले केहि समय अगाडि संसदमा नै राज्यका प्रहरी प्रशासन जस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण, तिनले गरेका छानविन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानविन विशेष समिति बनाउन पर्ने भन्नु भएको थियो, ’ उनको भनाइ छ, ‘सभापतिले छानविन समिति बनाउनु पर्छ भन्दा हामी समर्थकहरू संसदबाहिर पनि हो यहि हो भनेर वकालत गरेका थियौँ । आखिर नेपालको धरातलिय यथार्थ त्यही नै हो ।’

संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो पार्टीको विरूद्धमा जस्तो भएको भए पनि अन्तर्यमा  त्यो मुद्दा रास्वपाको मुद्दा भएको उनको दाबी छ । ‘हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।’

उनले सभापति लामिछानेको हर्कतका कारण समर्थकमा निरासा आएको बताएका छन् । ‘अवस्था फरक हुँदैछ । समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् । शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ । त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त छैन,’ उनले भनेका छन्।
 
सहकारीको साना साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई पार्टीले सभापति नबनाएका उल्लेख गर्दै उनले प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश पार्टीको नेतृत्व हुन नसक्ने बताएका छन् । ‘संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ, ’ उनको भनाइ छ, ‘ जस्तो कसिमा जाँचिनु पर्ने हो, जाचिन तयार हौँ । तर यो कुरा सकिदिउँ । अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानविन र जाँचमा उभिने ? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी । अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख ।’

 

Tags: