नेपाल बैंकको गोलबजार शाखा आफ्नै भवनमा
काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–४, गोलबजारमा बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार शुरू भएको छ । भवनको बुधवार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरूप निर्माण भएको भवनबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।
हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिँदै आएको छ । आगामी दिनमा ग्राहकलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताइएको छ ।