जनयुद्ध कि हिंसा ? प्रधानमन्त्री ओली भन्छन्, ‘हिंसा हो नभए किन व्यवस्थापन आवश्यक पथ्र्यो ?
काठमाडौं – नेकपा माओवादी र नेकपा एमालेको वाकयुद्ध उत्कर्षमा छ । यी पार्टीका नेता एकअर्का विरुद्ध सबैतिर खनिएकै देखिन्छन् । कुनै बेला एक पार्टी भएका बेला जनयुद्धलाई स्वीकार गरेको एमालेले पछिल्लो पटक जनयुद्धलाई हिंसा भन्न एमालेका तल्लो देखि माथिल्लो तहसम्मका नेता लागि परेका छन् । एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संसदमै जनयुद्धलाई हिंसा भनेसँगै सुरु भएको लहरो अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेको छ ।
आज (शनिबार) २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ‘हिंसा महान थियो भने किन शान्ति प्रक्रियामा आएको ?’ भनेर प्रश्न गरे । उनले हिंसा भएकै कारण त्यसको व्यवस्थापन भएको बताए । ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मान्छेहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो । किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्ध थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन । जन आन्दोलन हो भने पनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन,’ उनले भने ।