जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विशेष कार्यक्रम समापन
काठमाडौं । जोन्टा क्लब काठमाडौंले एनसेल फाउण्डेशन र साथी संस्थाको साझेदारीमा युवा सहभागितामा केन्द्रित यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा ‘लैंगिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका परस्पर सम्बन्धित चुनौतीको समाधान’ शीर्षकमा प्रभावशाली प्यानल छलफल आयोजना गरिएको बताइएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मान्जली शाक्य बज्राचार्य, सशस्त्र प्रहरी बलकी सहायक प्रहरी महानिरीक्षक फूलकुमारी पौडेल, एनसेल फाउण्डेशन, साथी संस्था, युनिसेफ, युएनएफपीए, युनेस्को, आइसीआईएमओडी, सिस्टर्स अफ सेन्ट मेरीज र जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ का प्रतिनिधि उपस्थिति थिए ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष विना राणाले लैंगिकतामा आधारित हिंसा, बालविवाह र ती मुद्दाहरूको जलवायु परिवर्तनसँगको सम्बन्ध विरुद्ध सामूहिक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएकी थिइन् । उनले १६ दिने अभियानको सफलताबारे चर्चा गर्दै एनसेल फाउण्डेशन र साथी संस्थाको सहयोगमा सञ्चालित ‘ओरेन्ज द स्कुल’ पहलले १२ विद्यालयका १ हजार ७०० भन्दा बढी विद्यार्थीमा लैंगिकतामा आधारित हिंसा, बालविवाह र साइबर सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गरेको जानकारी दिए ।
जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ (नेपाल, भारत, श्रीलंका, र बंगलादेश समेटिएको)की अध्यक्ष सोनी जोशीद्वारा सञ्चालन गरिएको प्यानल छलफलमा खालिसिसीका सिईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, आइसीआईएमओडीकी मन्दिरा श्रेष्ठ, युनेस्कोकी जूही अधिकारी र एनसेल फाउण्डेशनकी विषाखा लक्ष्मी खड्काले भाग लिएका थिए । छलफलले लैंगिक असमानताको सामना गर्न र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न नवीन रणनीति र कार्यान्वयन योग्य समाधान प्रस्तुत गर्न सघाएको बताइएको छ ।