गण्डकी प्रदेश महोत्सव : जातीय परम्परागत घर अवलोककर्ताको रोजाइमा

Image

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेस महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरुको मौलिक संस्कृति संरक्षण गर्न उनीहरुको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।

महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ ।
गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरुको पोसाक, उनीहरुको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र  स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरुले प्रयोग गर्ने औजारहरु न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ । त्यसैगरी, मगर जातिको पर्वहरुमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरुको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए।

महोत्सवको सांस्कृतिक समितिका संयोजकसमेत रहनुभएका मगरले जनजातिहरुको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरु राखिएको बताए। जातीय सांस्कृतिक घरसँगै ती जातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उहाँको भनाइ छ । “नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जानजातिहरुको संस्कृति हराउँदै गइरहेको छ” उनले भने, “हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरुलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरु आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए। “जाजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरुको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ” उनले भने, “जातीय खानाहरुसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।” सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरु प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए।

“थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, हाँसका परिकार, ढिकर (चामलको पिठोलाई पानीको वाफमा उसिनेर पकाइने एकप्रकारको रोटी) प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ” अध्यक्ष भट्टचनले भने, “त्यहाँ उनीहरुले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिकी, जाँतो, हलो, जुवा, नारा लगायतका परम्परागत औजारहरु समेत राखिएका छन् ।” पाँच वटै जातिका घरमा उनीहरुले प्रयोग गर्ने परम्परागत तर, लोपोन्मुख सामग्रीहरु प्रदर्शन गरिइएको छ ।

अध्यक्ष भट्टचनले जातजातिहरुको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि महोत्सवमा सांस्कृतिक घरहरु निर्माण गरिएको बताए। “परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नै छैन,” उनले भने, “उनीहरुलाई हाम्रो जातजातिको सांस्कृतिक कुराहरुसहित भेषभूषा, रहनसहनबारे जानकारी गराउने उद्देश्यले लोपोन्मुख जातिलाई समेटर यस्तो घर निर्माण गरिएको हो ।” मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गरिँदा सबै समुदायलाई जातजातिको संस्कृति बारे जानकार र सचेत गराउन तथा संस्कृति पुस्ता हस्तान्तरणको लागि समेत महत्वपूर्ण हुने भट्टचनले बताए।

महोत्सवको सांस्कृतिक समिति संयोजक मगरले नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको बताए। पहाडका गुरुङ, मगर तामाङ, भावर क्षेत्रका चेपाङ तथा तराईका थारु समुदायका कला, संस्कृति र उनीहरुको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षण समेत बढाएको मगरले बताए। अहिलेका युवा पुस्ताले सुन्ने गरेको तर पहिले प्रयोगमा आउने गिठा, भ्याकुरको स्वाद लिन र संस्कृतिबारे प्रत्यक्ष अवलोकन गरेर बुझ्नका लागि सांस्कृतिक घरमा दर्शकहरु आउने गरेको उनले बताए।


आदीवासी जनजाति महासङ्घ गैँडाकोटका पूर्वनगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरहरु समेत मेला महोत्सवमा राख्नुपर्ने बताए। “क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती लोप हुने अवस्थामा पुगेका छन् ।” आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले एकअर्काको संस्कृति बुझ्न तथा नेपालीहरुको बीचमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्ने पूर्व अध्यक्ष गुरुङको भनाइ छ ।

अन्यत्रबाट आएर नवलपुरमा बसोबास गर्दै आएका जातजतिको पहिचान र उनीहरुको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए। आफूहरुको संस्कृति लोप हुने अवस्थामा पुगेका कारण हरेक दर्शकले देखुन् र जान्न पाउन् भन्नकै लागि महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्नहरु राखिएको गुरुङको भनाइ छ । यस महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरी सुरुमै निर्माण गरिएकाले पनि चासोका साथ यसलाई लिइएको छ ।

निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरुको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालीगढहरु प्रयोग गरिएको थियो ।

चितवनको भरतपुरमा महोत्सव हेर्न आएका युवा रामप्रसाद खनालले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला र संस्कृतिबारे नजिकबाट बुझ्न आफूलाई मद्दत गरेको बताए। “भावर क्षेत्रमा बसोबास गर्ने चेपाङको बारेमा धेरै सुनेको थिएँ, उनीहरुले खाने कन्दमुलको बारेमा सुनेको थिएँ, तर देख्न पाएको थिइनँ” खनालले भने, “गण्डकी प्रदेश महोत्सवमा आएर चेपाङसहित अन्य जातिको जातीय पहिचानको बारेमा प्रत्यक्षरुपमा देख्न र बुझ्न पाएँ ।” महोत्सवमा उनले जनजातिको परम्परागत घरसँगै उनीहरुको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको बताए।

कास्कीको पोखराबाट यस महोत्सवमा पुगेकी सुजाता कुँवरले जीवनमा कहिल्यै अनुभव नगरेको ढिकर, घोँङी देख्न र चाख्न पाउँदा रमाइलो लागेको बताइन्। “हाम्रो मौलिकता झल्किने सामग्रीहरुले हाम्रो इतिहास, कला र संस्कृतिबारे बुझ्न त मद्दत गरेकै हुन्छ” उनले भनिन्, “त्यसका साथ साथै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका सँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पु¥याएको हुन्छ ।” संस्कृति बुझ्न र उनीहरुले प्रयोग गर्ने परिकार पकाएको र पकाउने तरिकाबारे बुझ्दा खानाका पारखीहरुका लागि फाइदा पुग्ने उनको भनाइ छ ।

 

Tags: