स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Image

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सञ्चालन गरेको छ । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृशिशु मृत्युदर घटाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

काठमाडौं महानगरपालिकासँग समन्वय गरी महानागरनगरपालिकास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका ४५ जना अनमीहरुका लागि कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिईएको थियो । यसै सम्बन्धमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट स्तनपायी आमाहरुकालागि प्रदान गरिने सेवाहरुको विषयमा समेत चर्चा गरिएको छ ।

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट ६ महिना सम्मका सुत्केरी आमाहरुका लागि निःशुल्क औषधि वितरण गरिनुका साथै सो सम्बन्धमा परामर्श समेत दिईन्छ ।

Tags: