एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरीद गर्दा ८ प्रतिशतसम्म छूट
काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरीद गर्दा ८ प्रतिशतसम्म छूट पाउने गरी बैंक र एयरलाइन्सबीच सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका निर्देशक रूपेश जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ ओटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरीद गर्दा उक्त छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् ।
नेपालको निजीक्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छूट सम्झौताले बैंकका ग्राहकलाई विशेषगरी आउँदै गरेको चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रूपमा आवतजावत गर्न सघाउ पुग्ने विश्वास बैंकको छ । छूट योजनाबाट डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिन ठोस टेवा पुग्ने बैंकको अपेक्षा छ ।