गरिमा विकास बैंकमा अन्तरराष्ट्रिय क्यूआर पेमेन्ट सुविधा

Image

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरूवात गरेको छ । यस विकास बैंकले  फोनपे  सँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको साउन १ देखि लागू हुने गरी शुभारम्भ गरेको हो ।

यस सेवाअन्तर्गत, भारतीय ग्राहकहरुले बीएचआईएम र फोनपे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रूपमा उपलब्ध गराउन आफ्ना व्यावसायिक ग्राहकसँग सहकार्य गरेको बताएको छ ।

यस प्रकारका सेवाले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विकास बैंकले राखेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

 

Tags: