उत्कृष्ट अंक प्राप्त गर्ने तीन स्वास्थ्य संस्थालाई सम्मान

Image

काठमाडौं – थुलुङ दुधकोशी गाउँपालिकाले न्यूनतम सेवा मापदण्डमा गाउँपालिका भरी उत्कृष्ट अंक प्राप्त गर्ने तीन स्वास्थ्य संस्थालाई  नगदसहित सम्मान गरेको छ  ।  गाउँपालिकाअन्तरगतका स्वास्थ्य संस्थाहरूको आ.व. २०८०÷०८१ को वार्षिक समीक्षा कार्यक्रममा उक्त स्वास्थ्य संस्थालाई सम्मान गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम हुने स्वास्थ्य चौकी–पञ्चन, दोस्रो हुने स्वास्थ्य चौकी–काँगेल र तेस्रो हुने स्वास्थ्य चौकी–जुबुलाई कमशः १५ हजार,  १० हजार र  ५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरूको न्युनतम सेवा मापदण्डसम्बन्धी इन्डेक्सको हकमा सबैले ८० प्रतिशतभन्दा माथि अंक कायम गर्न सफल भएको विवरण समेत प्रस्तुत गरिएको छ ।  कार्यक्रममा थुलुङ दुधकोशी अस्पताल लगायत ६ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरूले गत आर्थिक वर्षमा आ–आफ्नो संस्थाद्वारा सम्पन्न गरिएका स्वीकृत कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले जनताका स्वास्थ्यसम्बन्धी हकको लागि आफु संवेदनशील रहेको भन्दै जनताको स्वास्थ्यप्रति अति जिम्मेवार भएर आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिए।  सबै स्वास्थ संस्थाहरूको प्रगति समिक्षा पश्चात् गाउँपालिकाभरि मातृ मृत्युदर शून्य, नव शिशु तथा बाल मृत्यु दर शून्य, पूर्ण खोप सुनिश्चतता भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदिप राई , स्वास्थ शाखा प्रमुख उद्वब ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

 

Tags: