अस्थिर सरकारको प्रभावमा संसदमा पटक पटक पर्दै आएको छ : सांसद प्रभु हजारा
प्रभु हजारा प्रतिनिधि सभाका सदस्य हुन् । नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै संघीय संसदमा पुगेका उनी संसदको शिक्षा, स्वास्थ्य, सञ्चार, प्राविधिक समितिमा छन् । बुवा प्रधानपञ्च रहेका उनले पनि विद्यार्थी कालदेखि नै राजनीति शुरू गरेका थिए । परिवारमा उनका दाजु शम्भु हजारा पासवान नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन्। उनी संविधानसभा सदस्य समेत हुन्। एमाले पर्सा जिल्ला कमिटीको अध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय सदस्य समेत रहेका हजारासँग सबलकर्मी दीपा रेग्मीले संसद अनुभवका विषयमा गरेको कुराकानी :
प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, सांसद नहुँदा गरेको अनुमान संसदीय अनुभव बटुल्दा कस्तो महसूस भएको छ ?
मरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिमा जोडिएको हो । मेरो दाई शम्भुहजारा संविधान सभा सदस्य र त्यो बेलाको शासकीय स्वरुप समितिको सभापति समेत हुनुहुन्थ्यो, त्यसले पनि मलाई बुझ्न सजिलो थियो, अर्कोतिर म पार्टीमा ८ वर्ष जिल्ला कमिटी अध्यक्ष र पार्टीको १०औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य समेत रहेर काम गर्दै आएको छु । प्रशासन आयोगमा बसेर काम गरेको, खेलकुद विकास समिति, हस्पिटल विकास समिति, दलित विकास समितिमा रहेर काम गरिसकेको थिएँ । यस अगाडि पनि धेरै माननीयहरूसँग प्रत्यक्ष रुपमा जोडिएर काम गरेकोले पनि मलाई संसद त्यति नौलो लागेको थिएन ।
तथापि संसदमा पुगिसके पछाडि संसद आफै सक्रिय रहन नसक्दा सरकारले संसदलाई भूमिका दिन नसक्दा सोंचे अनुरुप काम हुन सकेनन्, अपेक्षित धेरै काम हुन सकेको छैन, यसले हाम्रो सक्रियता र क्षमतामा पनि ब्रेक लागेको महसूस भएको छ । सरकारले विधेयक ल्याएपछि समितिले त्यसलाई छलफल गरेर संसदमा लैजानुपर्ने हुन्छ, अरुको तुलनामा कम्तिमा हामीले विश्वविद्यालय र मुद्रण सम्बन्धी २ ओटा विधेयक संसदमा पठायौं, विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ, चाँडै नै त्यसलाई संसदमा पठाउने अवस्थामा पुर्याएका छौं। संसदको काम कानून बनाउने मुख्य काम हो, त्यसलाई प्राथमिकता दिएर जानुपर्छ भन्ने लाग्छ ।
तपाईको आफ्नो सोंच र अपेक्षा अनुरुप भएन भन्न मिल्छ ?
वास्तवमा हामीले बाहिर बसेर सोंचे भन्दा संसदको काम गर्ने परिपाटी फरक रहेछ । संसदको जति क्षेत्राधिकार र सक्रियता आवश्यक मात्रामा व्यवहारिक रुपमा अगाडि भएको भए मुलुक कहाँबाट कहाँ पुगिसक्थ्यो । संसदलाई एउटा एउटा इश्यूमा महिनौंदेखि अनिर्णयको बन्दी बनाउने काम भएको छ । हाम्रो परिस्थिति फरक छ, संसारभरका संसदभन्दा हाम्रो संसद फरक रहनुपर्छ, हामीलाई धेरै विकास गर्नुछ, रुपान्तरण ल्याउनु छ , धेरैको अपेक्षा र भरोसा संघीय संसद माथि छ तर त्यस अनुरुप व्यवहारमा संसदले काम गर्न पाएको छैन ।
हामी लोकतान्त्रिक गणतन्त्रमा छौं, नागरिकका अपेक्षा बलिएका छन्। विश्व परिभेष बदलिएको छ, विश्वव्यापि प्रतिस्पर्धामा हामीले आफूलाई लैजाने चुनौती छ, सोही अनुसारको कानून निर्माणको जरुरी पनि छ ।
यसैबीच पनि आफ्नो भूमिकालाई कसरी प्रस्तुत गर्नुभएको छ ?
संसद र त्यसअन्तर्गतको समितिमा म नियमित रुपमा उपस्थित हुँदै आएको छु । विशेष समय, छलफलका विषयवस्तुमा आफ्ना विचार राख्दै आएको छु । संसदको शुन्य समय, विधेयकमाथिका विचार राख्ने कुरामा धारणा राख्दै आएको छु ।
संसदमा त फेरि पार्टीका ह्विप पनि लाग्छन्, कति स्वतन्त्र रूपमा प्रस्तुत हुन पाउनु भएको छ ?
सामान्यतया अभिव्यक्ति राख्ने कुरामा मैले स्वतन्त्रपूर्वक नै राख्न पाएको छु । अभिव्यक्ति राख्ने कुरामा पार्टीले ह्विप लगाउने कुरा पनि भएन तर संयमित र अनुशासित बन्ने कुरामा आफै सजग बनिएको हुन्छ ।
संसदमा तपाईहरू आफ्ना जिल्लाका सवाललाई पनि उठाउँदै आएको देखिन्छ, त्यसको सुनुवाई कति हुन्छ ?
अगाडिका सरकारबाट त्यति धेरै सुनुवाई भएजस्तो लागेन, तर अहिले हाम्रो आफ्नै पार्टी सरकारमा छ । अहिले केही सुनुवाई भएको पनि छ र नेकपा एमाले सरकारमा रहेपछि सुनुवाई हुनुपर्छ भन्ने कुराको मान्यता म राख्छु । माननीयहरू उठाउने नागरिकका सवाल हुन्, सरकारले त्यसलाई सुनुवाई गर्ने पहल गर्नुपर्छ । कतिपय अवस्थामा सरकार र संसदले सुनुवाई गरेपनि कार्यान्वयनमा पनि जटिलता छन्, कानूनी तगारा, अदालतको हस्ताक्षेप धेरै हुने समस्या छ, ती कुरामा सहजीकरण हुनु आवश्यक छ ।
तपाईले मतदातासमक्ष गरेका प्रतिवद्धता कति पूरा भएका छन् ?
मेरो क्षेत्रमा विकास निर्माणका धेरै काम भएका छन् । दीर्घकालीन योजनका काम भएका छन्। तथापि एकै पटक परिणाम देख्न सकिने अवस्था रहन्न भने कतिपय अदालतले रोकेका कारण पनि काम अगाडि बढ्न पाएको छैन । अदालतले यस्ता बाधा अड्काउलाई सीघ्र फुकाउने काम गर्नुपर्छ ।
तपाईआफू संलग्न संसदीय समितिको भूमिकालाई कसरी हेर्नुभएको छ ?
हामीले ४ ओटा विधेयकमा छलफल गर्र्यौं, २ ओटा संसदमा गइसके । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने छ । हामी अहिले पनि ५२ वर्ष अगाडिको शिक्षा नीतिमा चलिरहेको छौं । विश्व कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देशमै कति परिवर्तन भए तर हामी अहिले पनि पञ्च्यातकालीन शिक्षा नीति र कानूनमा निर्भर छौं। हामी यसमा वृहत छलफल र अन्तरक्रियामा छौं। हामी महत्वपूर्ण शिक्षा विधेयकलाई अगाडि बढाउँदै छौं। स्वास्थ्य विधेयकलाई पनि उत्तिकै महत्वका साथ प्राथमिकता दिएका छौं। नेपाललाई मेडिकल शिक्षाको हवको रूपमा लैजान सकिन्छ भन्ने कुरा हाम्रो सुझावमा छन् ।
संसदको कार्यशैलीको आलोचना धेरै हुन्छ, कहिले परिवर्तन हुने?
बहुदल आएपछि नेपाली कांग्रेसले बहुमत पाएर सरकार बनायो तर त्यसलाई टिकाउन सकेन। पछि एमाले र माओवादी मिलेर नेकपा बनेसँगै केपी ओलीको नेतृत्वमा सरकार बन्यो, त्यसबेला पार्टीले बहुमत पायो तर पार्टी बीचमै फुट्यो, सरकार ५ वर्ष निरन्तर रहन सकेन। स्थिर सरकार नबन्दा धेरै समस्या आएका छन् । यसमा धेरै विकृति आयो, सरकार कसरी टिकाउने भन्नेमै संसद सिमित रहने अवस्थामा पुगेको छ । अस्थिरता कायम रहेसम्म यो अवस्था यही नै रहन्छ ।
अन्त्यमा ?
म पार्टीको जिम्मेवार केन्द्रीय सदस्य पनि रहेको कारण अहिलेको सरकारलाई प्रचण्डजीको नेतृत्वमै अगाडि बढाएर पार्टीलाई थप जिम्मेवार बनाएर ‘मिसन ८४’ लाई अगाडि बढाउनु पर्छ भन्ने लाग्छ । पार्टीले नागरिकका समस्यालाई पूरा गर्दै ‘समर्ग नेपाल सुखी नेपाली’को अभियानलाई अगाडि बढाउनुपर्छ।