ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा सीए मदनकृष्ण शर्मा

Image

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको शुक्रवार सम्पन्न २९औँ वार्षिक साधारणसभाले  बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट  मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेश कुमार जोेशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको संस्थाका कार्यकारी निर्देशक आशिष थापाले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संलग्न रहदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत ४ वर्ष देखि क्रियाशील थिए । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिवद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नागरिक स्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रण तर्फमा प्रगति हुन नसकेको उल्लेख गरिएको छ ।

वार्षिक साधारणसभामा नयाँ रणनीतिक योजना कार्यान्वयनमार्फत संस्थाको सक्रियता बढाउनुपर्ने, सहकार्य सशक्त गराउनुपर्ने जस्ता कुरामा जोड दिइएको छ ।

 

Tags: