ओशोधाराको ध्यान योग कार्यक्रम सम्पन्न

Image

काठमाडौं–ओशोधारा नेपालले आयोजना गरेको ३ दिने ध्यान योग कार्यक्रम समर्थगुरु सिद्धार्थ औलियाको आशीर्वाद सहित नाद दीक्षा कार्यक्रममार्फत काठमाडौँमा सम्पन्न भएको छ ।  असार २७, २८ र २९ गते सञ्चालित उक्त कार्यक्रममा  ३० जनाभन्दा बढी नयाँ साधकले नवसंन्यासमा दीक्षा लिएका छन् । कार्यक्रमको अन्तिम दिन विभिन्न योगको अभ्यास गर्दै सहभागी नवसंन्यासीले कार्यक्रमको बारेमा आफ्नो अनुभव सुनाउँदै ओशोधारा नेपाल र आचार्य प्रति आभार व्यक्त गरेका थिए । सहभागीले ओशोधारा नेपालको यस कार्यक्रमलाई निरन्तर दिन र अझै धेरै क्षेत्रमा यसको विस्तारमा लाग्न सुझाव दिएका थिए ।

साथै सहभागी मध्ये नवसंन्यासी स्वामी अमृत प्रेमले आफू यस अगाडि विभिन्न ठाउँमा योग, प्राणायाम ध्यानको बारेमा केही जानकारी र अभ्यास गरेको भएपनि यस प्रकारको बृहत कार्यक्रममा पहिलो पटक उपस्थित भएको बताए । यस कार्यक्रमबाट सम्यक दृष्टि, जागृति, योग, ध्यान, समाधीको ज्ञान र अभ्यासमा बढोत्तरी भएको भन्दै उनले ध्यानबाट आत्मसन्तुष्टी र जीवनलाई सफल बनाउने कला र सीप प्राप्त गरेको बताए।

तीन दिने शिविरबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न प्रयासरत रहने उनले बताए । यो ज्ञान सीपलाई कार्यालयको काम, पारिवारिक एवं सामाजिक कार्यमा समेत प्रयोग गर्ने र अहिलेको सिकायत, प्रतिकूल एवं अप्ठ्यारा अवस्थाको समेत सहज रूपमा सामाना गर्न यसले सघाउ पु¥याउने उनको अपेक्षा थियो । उनले भने, ‘म यस प्रकारको योग ध्यान प्राप्त गरी जीवनलाई सहज, सरल र सफल बनाउन सबैलाई अनुरोध गर्दछु ।’

कार्यक्रममा सहभागी स्वामी दिव्य संगीतले ध्यान योगले आफूलाइ लयमा जिउन सिकाएको बताए। ‘ली नहुँदा प्रलय हुन्छ भन्ने मैले बुझें अब यसलाई व्यवहारमा उतार्छु र गुणात्मक जीवन जिउनेछु,’ उनले भने । अर्का सन्यासी स्वामी आनन्द उत्सवले कार्यक्रममा आएर आफूले अहंकार गुमाएको र बाँकी पाउन लायक सबै चिज पाएको बताए । ‘यस कार्यक्रमले म मा विकास भएको सकारात्मक ऊर्जाले गर्दा सबैलाई अनुरोध गर्छु कि यो ध्यान योग कार्यक्रम जुनसुकै तह र तप्काका, जुनसुकै उमेर समूहका व्यक्तिलाई आवश्यक छ,’ उनले भने ।

कार्यक्रमका अर्का सहभागी प्रेम करूणाले तीन दिनमा यति धेरै सकारात्मक र जीवन नै नयाँ अनुभूति होला भनेर त मैले कल्पना पनि नगरेको बताइन्। उनले भनिन्, ‘ध्यान, प्रज्ञा र सुमिरनको शक्ति गजबको शक्ति रहेछ। गुरुबाट जुन नाम पाएको छु त्यसअनुसार अध्यात्मलाई अगाडी बढाउन र करूणा र प्रेमलाई फैलाउन ओशोधारा मार्फत म लाग्नेछु।’ त्यसैगरी स्वामी अमृत प्रेमले ध्यान र प्रज्ञाका सूत्रविना जीवनमा आनन्द र सन्तोष नमिल्ने बताए । ‘मसँग के सम्पदा रहेछ त्यो अहिले मैले जानेको छु तीन दिनको बिचमा, यसलाई म जीवनमा आफ्नो व्यवहारमा उतार्नेछु,’ उनले भने । स्वामी दिव्य प्रेमले पहिलोपटक आफूले जीवनमा यति राम्रो र लाभदायक कार्यक्रम गर्ने अवसर पाएको बताए । व्यवसायी, संगीतज्ञ, सामाजिक अभियन्ता, आध्यात्मिक अभियन्ता, सेवा अवकाश, गृहिणी लगायत विद्यार्थी समेत सहभागी भएका यो कार्यक्रममा समग्रमा सबैले आफ्नो स्वाध्याय गर्न सकेको बताए।

उक्त कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य पूजारी र आचार्य डा गोपाल भट्टले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। आचार्यहरूले   विभिन्न योग, ध्यान, प्रवचन सहित साधना कला प्रदान गरेका थिए।  ओशोधारा नेपालले विगत २३ वर्ष देखि ध्यान, योग, प्रज्ञा मार्फत भौतिक क्षेत्रमा पनि सफल हुने र आध्यात्मिक आनन्द प्राप्त गर्नेगरी विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

 

Tags: