ओडिशा घटनामा इकयानको निरन्तर चासो, शिक्षा मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गरेको छ। इक्यानका प्रथम सचिव भवनाथ हुमागाईको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि शिवकुमार सापकोटालाई एक विशेष ‘ध्यानाकर्षण पत्र’ बुझाइएको हो।
यस पत्रमा भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गरिएको छ। विशेष गरी, हालै नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय निधन र त्यसपछि विश्वविद्यालय प्रशासनद्वारा सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न दिइएको निर्देशनले थप चिन्ता बढाएको पत्रमा उल्लेख छ।
ध्यानाकर्षण पत्रमा नेपाली विद्यार्थीहरूको सुरक्षामा गम्भीर प्रश्न उठेको उल्लेख छ। ‘विद्यार्थीहरूले शान्त वातावरणमा अध्ययन गर्ने अधिकार पाउनुपर्ने भए पनि हाल उनीहरू असुरक्षित महसुस गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल शैक्षिक परामर्श संघले भारतस्थित नेपाली दूतावास, विश्वविद्यालय प्रशासन तथा भारतीय सरकारसँग उच्च तहमा संवाद गरी नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
छात्राको निधन रहस्यमय देखिएको हुँदा यसबारे विस्तृत अनुसन्धान गरी सत्य बाहिर ल्याइनुपर्ने माग पत्रमा गरिएको छ । विश्वविद्यालय प्रशासनले कुनैपनि विद्यार्थीलाई विभेदपूर्ण व्यवहार नगरोस् भन्ने सुनिश्चितता। गर्नुपर्ने, हाल विश्वविद्यालय छोड्न बाध्य पारिएका नेपाली विद्यार्थीहरूको भविष्य सुरक्षित राख्न वैकल्पिक समाधान खोज्न नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने मागमा उल्लेख छ।
उक्त घटनाका कारण विद्यार्थीहरू मानसिक तनावमा रहेकोले नेपाल सरकारले विद्यार्थीहरूसँग समन्वय गरी आवश्यक परामर्श तथा सहयोग प्रदान गर्न पहल गर्नुपर्ने माग गरिएको छ।
नेपाल शैक्षिक परामर्श संघले यस विषयमा तत्कालीन हस्तक्षेप गर्न सरकारलाई आग्रह गरेको छ। साथै, यदि चाँडो पहल नभए, यसले नेपाली विद्यार्थीहरूको सुरक्षा मात्र होइन, भविष्यलाई समेत नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ।
नेपाल सरकारले यस घटनालाई गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट भारतीय पक्षसँग वार्ता गरी नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न पहल गर्ने अपेक्षा गरिएको छ।