३३/११ केभी देवनगर सबस्टेशनको मेयर दाहालद्वारा उद्घाटन

Image


चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सवस्टेसनको उद्घाटन गरेकी छिन् । शनिबार एक कार्यक्रमका बीच प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेशनको उद्घाटन गरेकी हुन् ।

भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र शहरीकरणसँगै विद्युत् आपूर्ति देखिएको समस्या समधान गर्न देवनगर सबस्टेशन सञ्चालनमा ल्याइएको बताइन्। पश्चिम चितवनको मेघौलीमा पनि ४ विघा क्षेत्रफलमा सबस्टेशन निर्माण गर्न लागिएको उनको भनाइ छ ।

‘मेघौलीको सबस्टेशन सञ्चालनमा आएपछि सबै समस्या हटेर जान्छ, उनले भने, ‘५० वर्षलाई हेरर भरतपुरको गुरुयोजना निर्माण भएको छ । अबको ५० वर्षसम्म कुनै समस्या आउँदैन।’ भरतपुरमा नेपाल विद्युत् प्राधिकरणबाट महत्वपूर्ण काम भएको पनि उनले स्मरण गरिन् । भरतपुरका मुख्य शहरी क्षेत्र बाईपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतिकरण, ८० किमिमा स्मार्ट स्ट्रीट लाइट, बासपार्कमा चार्जिङ स्टेशन र फेरि पनि १५० किमी स्ट्रीट लाइटको काम हुन लागेको जानकारी दिइन्।

उनले उज्यालो भरतपुर बनाउन आउँदो तिहारसम्म स्ट्रीट लाइटको काम सम्पन्न गर्न प्राधिकरणका निर्देशक घिसिङलाई अनुरोध पनि गरिन् ।
यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरमा प्राधिकरणले कुनै पनि काम गर्दा स्थानीय तहले गर्ने समवन्य देशभरमै उत्कृष्ट पाएको बताए । भरतपुरलगायत देशका प्रमुख शहरको ५० वर्षिय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको उनले जानकारी दिए ।

भरतपुरमा भइरहको तीब्र शहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षको लागि  विद्युत् आपूर्तिको समस्या नहुने गरी बनाइएको सो अवसरमा उनले बताए ।

उनले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेकाले चितवनका केही स्थान अझै पनि विद्युत् नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिए। माडीको विद्युत्मा देखिएको समस्या समधान गर्न छिट्टै नयाँ तार बिच्छाइने उनको भनाइ थियो । त्यस्तै माडीको बादरझुलामा पनि विद्युत् विस्तारको काम अघि बढाइने उनले बताए । सबस्टेशनमा ४ ओटा फिडर रहेका छन् । सबस्टेशनले भरतपुर महानगरको वडा नं. ५,६,८,९, १३, १४, १५, २२ र २३ मा गुणस्तरीय विद्युत् सेवा वितरण गर्ने छ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतले मन्तव्य राखेका थिए।

 

Tags: