२१ ठाउँमा एकैचोटी ओशोधाराको ध्यान योग कार्यक्रम 

Image

काठमाडौं – ध्यान, प्रज्ञा र योग समेटिएको ओशोधाराको तीन दिवसीय ध्यान योग कार्यक्रम आइतवार समापन भएको छ । भारतका विभिन्न राज्य तथा नेपालका तीन साधना केन्द्रसहित २१ ठाउँमा आयोजना भएको कार्यक्रम शुक्रवारदेखि सञ्चालनमा थियो । ओशोधारा साधना केन्द्र  ललितपुर, भक्तपुर र मंगलापुर बुटवलमा कार्यक्रमको आयोजना भएको थियो। 

कार्यक्रममा ६ सयभन्दा बढी साधकलाई समर्थगुरू सिद्धार्थ औलियाले जुमको माध्यमबाट ओशो नव सन्यास दीक्षा, नाद दीक्षा र माला दीक्षा प्रदान गरेका थिए। विभिन्न ठाउँमा विभिन्न आचार्यहरूले कार्यक्रम संचालन गरेका थिए। ललितपुर साधना केन्द्रमा आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य डा. नम्रता पाण्डे र आचार्य इन्जिनियर अनन्त विष्टले कार्यक्रममा ध्यान तथा प्रज्ञाको प्रशिक्षणमार्फत साधना विधिमा सहजीकरणको भूमिका निर्वाह गरेका थिए। 

भक्तपुर साधना केन्द्रमा आचार्य पूजारी, आचार्य सूर्य र आचार्य सुवासले भूमिका निर्वाह गरेका थिए भने मंगलापुरमा आचार्य सत्यार्थ, आचार्य शिव र आचार्य नारदले आचार्यको भूमिका निर्वाह गरेका थिए। 
तनाव, वेचैनी र भागदौडको आजको समयमा ध्यान योगको माध्यमबाट जीवनलाई सहजतापूर्वक कसरी जिउने भन्ने व्यवहारिक एवं प्रयोगात्मक अभ्यासको माध्यमबाट विभिन्न सूत्रहरू प्राप्त गरेको सहभागीहरूले बताएका थिए। ललितपुरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रसेवक, प्राध्यापक, राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकार, शिक्षक तथा विभिन्न पेशाकर्मी, गृहिणीहरु लगायत सहभागी थिए । 

ध्यान योग कार्यक्रमले जीवन र जगतलाई जटीलताबाट सहजतातर्फ उन्मुख गराउन सहयोग गरेको पत्रकार अमृतनाथ तिमल्सिनाले बताए । व्यस्त जीवनशैली, प्रतिष्पर्धा र प्रविधिले बढाएको आधुनिकतामा आफैंलाई भुल्दै हराइरहेको मान्छेलाई आफैंभित्र प्रवेश गरी आफ्नै क्षमता, गुणको विकासबाट शान्ति, सौहार्द्र सुखानुभूति गराउन ओशोधाराको ध्यानले सहयोग गर्ने उनको भनाइ थियो । 

आत्मिक सुख अनुभूति र प्रकृतिसंगै रमाउँदै प्राकृतिक रूपमा स्वीकारभाव बढाउनाले द्वन्द्व न्यूनीकरण गर्दै सकारात्मकता अभिवृद्धि हुने उनले विश्वास व्यक्त गरे । उनले ओशोधाराको योग ध्यान कार्यक्रम अद्यात्म र विज्ञान, विचार र व्यवहार, चेतना र जागृतिलाई संयोजन गरी दृष्टिकोण, विचार र व्यवहारको शुद्धीकरण गर्ने मौलिक कार्यक्रम महसुस भएको बताए । समग्रतामा आधारित भएकोले ओशोधाराको ध्यान व्यावहारिक जीवनका लागि निकै उपयोगी हुने अनुभूति पत्रकार तिमल्सिनाको रहेको छ । 

 

पूर्व राष्ट्रसेवक प्रदीपमर्दन केसीले ओशोधाराको ध्यान योग कार्यक्रम आफु शान्ति र सुखपूर्वक बाच्ने र अरुलाइसमेत बचाउने अभियान भएको अनुभूति साटे । आचार्यहरूको सामिप्यताले नयाँ उत्प्रेरणा दिएको बताउँदै केसीले यस्तो कार्यक्रम निरन्तरताको प्रतिज्ञा गरे ।


 
कार्यक्रममा सहभागी भौतिक शास्त्रका प्राध्यापक सिताराम ब्याउतले आफ्नो अनुभूती राख्दै अल्बर्ट आइन्स्टाइनले समेत ध्यानको महत्वलाई विज्ञानका आविष्कारभन्दा पनि श्रेष्ठ महत्व दिएको बताउँदै आफूले पनि रिटायर्ड लाइफमा पूर्वीय दर्शन र ध्यान योगको महत्व बुझेर आत्मसात गरेको बताए । भट्किरहेको मान्छेलाइ शान्त शितल र सुखको स्रोत ध्यान भएको आफ्नो अनुभूती व्यक्त गरे ।

भौतिक विज्ञानका प्राध्यापक रबिन्द्र बुढाथोकीले ध्यानको यो पहिलो कक्षा बसेको अनुभूति व्यक्त गर्दै आफू ढिलाभएको अनुभूति व्यक्त गरे । ध्यानले मानिसको आक्रोस, उत्तेजना र आवेग रोक्ने तथा रुपान्तरण गर्ने अनुभूति पाएको विभिन्न उदाहरण सहित अनुभूति साटे । यस्तो कार्यक्रमलाई शहरको भीडभाड र व्यस्त जीवनशैलीभन्दा अलि पर शान्त र प्राकृतिक वातावरणमा सञ्चालन गर्न सके अझ राम्रो हुने महालक्ष्मी नगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष नन्दकुमार न्यौपानेले बताए । कार्यक्रममा ९ वर्षीया इप्सा रोक्काले समेत ध्यानले गर्दा आफूमा वेग्लै खुसी बढेको र पढाइमा मन लाग्ने गरेको अनुभूति सुनाइन् ।  

सुगरको बिरामी भएपछि इन्टरनेटबाट हेरेर ध्यान र योग गर्ने गरे पछि स्वास्थ्यमा सुधार भएको बताउँदै चिरञ्जिवी धितालले भौतिक रुपमा आचार्यहरूको प्रत्यक्ष निगरानीमा सहभागी भएपछि अझ धेरै ज्ञान बढेको बताए ।
 

Tags: