किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतमा रमेश शर्मा 

Image

काठमाडौं– किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतमा रमेश शर्मा नियुक्त भएका छन् । किर्गिज सरकारले निर्माण व्यवसायी शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गर्दै वाणिज्यदूतको कार्यालय समेत सञ्चालनमा ल्याएको छ । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतको कार्यालय खुलेको हो । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधवार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

बुधवार कार्यालयले काठमाडौंमा रिसेप्सन कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा अवैतनिक किर्गिज वाणिज्यदूत नियुक्ति र वाणिज्यदूतको कार्यालय स्थापनालाई दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध विस्तारमा नयाँ थालनी भएको बताए । दुवै मुलुक जलवायु परिवर्तनका जोखिमबाट असुरक्षित रहेकोले यो लगायत अन्य साझा हितको क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै उनले यसमा नेपाल सरकार सधैं तत्पर रहेको बताए ।

नेपालका लागि किर्गिज गणतन्त्रका गैरआवासीय राजदूत बेसिमोभले दुई मुलुकबीचको सुमधुर सम्बन्ध तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा यो महŒवपूर्ण कदम भएको बताए । किर्गिज गणतन्त्रका नवनियुक्त अवैतनिक वाणिज्यदूत शर्माले दुई मुलुकबीचको समानताले आपसी सहकार्यका अवसर प्रदान गर्ने भन्दै द्विपक्षीय व्यापार र लगानीमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको बताए ।

उनले किर्गिज गणतन्त्रमा नेपाली वस्तुको निकासी बढाउन किर्गिज सरकारबाट सहयोग प्राप्त हुने विश्वास गर्दै किर्गिज गणतन्त्रका लागि नेपाल श्रमिक आपूर्तिको भरपर्दो स्रोत हुनसक्ने पनि उल्लेख गरे । 
 

Tags: