‘पूर्ण आईटी समाजको परिकल्पना’मा केन्द्रीत छौं : अध्यक्ष लाइफ कम्प्युटर

Image

लाइफ कम्प्युटर आईटी ट्रेनिङको क्षेत्रमा स्थापित नाम हो । एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेल राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छन्। संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रीत रहेको उनको भनाई छ । आईटी विज्ञसमेत रहेका पोखरेल आफू डेढ दशकदेखि यो क्षेत्रको विकास र विस्तारलाई अभियानका रूपमा अगाडि बढाएको बताउँछन् । लाइफ कम्प्युटरले २०७४ सालदेखि ‘वेबसाइट कम्पिटिसन’ समेत गर्दै आएको छ । विशेषगरी एसईई दिएर बसेका विद्यार्थीको आईटीतर्फको लगावलाई बढाउन र त्यसतर्फ प्रेरित गर्न शुरू भएको ‘वेबसाइट कम्पिटिसन’को छैटौं सिजनका विजेता छनोटको प्रकृया अगाडि बढिरहेको अध्यक्ष पोखरेलले जानकारी दिए । यसको तयारी कहाँसम्म पुगेको छ र नेपालको आईटी क्षेत्रको सांगोपांगो अवस्थाका बारेका सबलकर्मी दीपा रेग्मीले कुराकानी गरेकी छिन् :

तपाई आईटी क्षेत्रमा कसरी जोडिनुभयो ?

मलाई सूचना प्रविधि (आईटी) प्रति सानैदेखि नै रुचि थियो । एसएलसी दिएसँगै मलाई हाम्रो अध्ययनलाई प्रविधिसहितको सीपसँगै लैजानुपर्छ भन्ने महसूस भएको थियो। हाम्रो शिक्षा व्यवहारिक र प्रविधिमैत्री छैन कि भन्ने मलाई त्यति बेला नै महसूस भएको थियो। तर त्यो बेलाको प्रविधि पहुँच, मेरो आफ्नो आर्थिक अवस्था, तत्कालिन समय सबैकुराले साथ दिन सक्ने अवस्था थिएन, मलाई कोडिङ गरेर वेबसाइट बनाउँ भन्ने लाग्थ्यो तर त्यो समयमा मसँग पैसा नै थियो न त ल्यापटप कम्प्युटर नै थियो। मलाई आफूले चाहेको र रुचिको क्षेत्रमा जोडिन नपाउँदा डिप्रेसनकै अवस्थामै पुरायोे, मलाई कक्षा ११, १२ पढ्नुको कुनै अर्थ नै थिएन। घरमा पनि म आईटी नै पढ्छु भनेर जिद्धि गरें, त्यो बेला बुवा इण्डियामै हुनुहुन्थ्यो । बुवाले मलाई उतै बोलाउनुभयो, म काम गर्दै आफूले रोजेको विषय आईटी अध्ययन गरें। चार वर्ष आईटीसम्बन्धी अध्ययन गरेर २०६६ सालमा म काठमाडौं फर्किएको हुँ ।

लाइफ कम्प्यूटरका परिकल्पना कसरी आयो ?

इण्डियाबाट फर्कने बेला मेरो मनमा एउटा हुटहुटी थियो, जुन म आफूले एउटा ल्यापटप, कम्प्यूटरको अभावमा वेबसाइट कोडिङ गर्ने रहर मार्नु परेको थियो, सीप सिक्ने रफ्तारलाई रोक्नु परेको थियो । त्यो अवस्था नआउनको लागि सोही अनुसारको सीप हस्तान्तरण गर्ने संस्थाको परिकल्पना मैले गरें, त्यही परिकल्पनाको रूप हो – लाइफ कम्प्युटर ।

इण्डियाबाट फार्किएर २०६७ सालमा मैले सफ्टवेयर कम्पनी पनि खोलेको थिएँ र सोही समयमा विभिन्न विद्यालयमा आईटीसम्बन्धी तालीम पनि दिने गर्थें । मैले सोही समयमै वेबसाइटहरु बनाउने तालीम दिने योजना बनाएको थिएँ तर त्यो समयमा मसँग टिम थिएन, आईटी पढेका कोही भएपनि अमेरिका, क्यानडा, अष्ट्रेलिया तिर जाने प्रवृत्ति थियो । सोही कारणले उक्त सफ्टवेयर कम्पनीबाट म घाटामा गएँ।

लाइफ कम्प्युटर अरु कसैले शुरु गरेको संस्था हो । मेरो सोच, भिजनसँग मेल खाने संस्था भएकोले २०६९ सालमा मेरो स्वामित्वमा लिएर संस्थालाई अगाडि बढाएको हुँ ।

‘वेबसाइट कम्पिटिसन’ को सोच कहाँबाट आयो ?

त्यो समयमा कम्प्युटरलाई सामान्य वर्ड, एक्सलको लागि मात्र सिक्ने हो भन्ने धारणा बढी थियो, मैले उति बेलै वेबसाइट कम्पिटिसनको सोच बनाएको थिँए तर त्यो बेला प्रतिस्पर्धा गर्नको लागि पर्याप्त विद्यार्थी पनि थिएनन् र मसँग यसको जानकार टिम पनि थिएन । सोचलाई सार्थकता दिने मनसाय मसँग जिवितै थियो । वेबसाइट कम्पिटिसनको माध्यमबाट यसमा झुकाव भएका विद्यार्थीको प्लेटफर्मको रुपमा विस्तार गर्ने र आईटीमा अगाडि बढ्ने सपना बोकेका पछिल्लो पुस्ता तयार गर्ने जुन मेरो भित्री मनसाय थियो, २०७४ सालमा पुगेर मात्र मेरो योजनाले सार्थकता पायो र लाइफ कम्प्युटरले पहिलो सिजनको ‘वेबसाइट कम्पिटिसन’को आयोजना गर्यो ।

‘वेबसाइट कम्पिटिसन’को शुरुआती अवस्थालाई कसरी सम्झनुहुन्छ ?

पहिलो सिजनमा विद्यार्थी आफै पनि यो प्रतियोगिता माथि विश्वास गरेका थिएनन्, यो कसरी सम्भव हुन्छ भन्ने कुराको अन्यौलता उनीहरूमा थियो । उनीहरूलाई कम्प्युटरमा फोटोसप, वर्ड, एक्सल मात्र सिक्ने भन्ने थियो । मेरो धारणा योभन्दा माथि गएर उनीहरूलाई सिएसएस, एचटीएमएल, जावास्क्रिप्ट सिकाउन भन्ने थियो । यो अभियानको उद्देश्य विद्यार्थीमा कोडिङको साक्षरताको विकास पनि थियो । विस्तारै पछिल्ला सिजनमा बुझाईमा निखारता र परिवक्वता पनि विद्यार्थीमा देखिन थालेको छ। संसार एआईको जमानामा पुग्दा कम्तिमा हाम्रो विद्यार्थी भाइबहिनीमा कोडिङसम्बन्धी सामान्य चेतनाको विकास भएको छ ।

यसको उद्देश्य के हो ?

यसको उद्देश्य आफूलाई कोडिङमा इच्छा हुँदाहुँदै विविध कारणले मन मारेर बस्नुपरे जस्तै अहिलेका भाइबहिनीलाई त्यो अवस्था नआओस् भन्ने नै  हो । अर्को नेपाल आईटीको देश हो है भनेर चिनाउनको लागि गरिएको सानै भएपनि पहल हो, यसका हरेक गतिविधि त्यसैतर्फ केन्द्रीत छन् । ‘पूर्ण आईटी समाजको परिकल्पना’ भन्ने हाम्रो दीर्घकालीन लक्ष्य नै छ । अहिले हरेक दृष्टिले नेपालको नं १ आईटी ट्रेनिङ इन्स्टिच्युटको रुपमा संस्थालाई स्थापित गराएका छौं ।

आजको दिनसम्म आउन कस्ता कस्ता चुनौतीको सामना गर्नुभएको छ ?

पहिलो कुरा बुझाउन र विश्वास दिलाउनै समस्या थियो, कोडिङका विषयमा जानकारी कम भएका कारण धेरैले नपत्याउने अवस्था थियो । अर्को समस्या वेबसाइट डिजाइनको कोडिङमै प्रतिस्पर्धा गराउने भएपछि हामीकहाँ राम्रा कम्प्युटर, व्यवस्थापन, टिमको आवश्यकता पर्ने भयो । सहभागी सबै विद्यार्थीले एचटीएमएल, सीएसएस, जाभास्क्रिप्ट सबै विद्यार्थीले गरे भने उत्कृष्ट कसरी छान्ने भन्ने चुनौती हामीसँग थियो । कतै राम्रालाई नछानेर हाम्रालाई छानिन्छ कि भन्ने डर पनि थियो । तथापि हामीले व्यवस्थित छनोट प्रक्रिया अपनायौं, जसको कारण यसमा त्यति धेरै चिन्ता मान्नुपर्ने अवस्था रहेन ।

अहिलको अवस्थामा आईटी क्षेत्रको विकास किन जरूरी ठान्नुहुन्छ ?

विश्व बजारलाई हेर्दा आईटी क्षेत्र एआईको युगमा पुगिसकेको छ । इन्टरनेशनल लेभलका करिकुलम हेर्ने हो भने हरेक वर्ष परिवर्तन हुँदै गएका छन्। अहिलेको जेनेरेसन पनि बदलिएको छ, हिजोको जेनेरेसनलाई हेरेर मात्र काम गरेर पुग्दैन यो क्षेत्रलाई हेर्दा अहिलेको जेनेरेसन र आईटी क्षेत्रमा अहिलेसम्म भएको विकासलाई हेर्न सक्नुपर्छ । पहिलेको पढाई र अहिलेको पढाई पनि एकनास हुन सक्दैन । हामी शिक्षाको प्रणालीमा सुधारको आवश्यकता छ भन्नको लागि एउटा झिल्कोको रूपमा काम गर्न चाहान्छौं र त्यसरी नै अगाडि बढी रहेका छौं ।

वेबसाइट कम्पिटिसको प्रतिस्पर्धामा भूगोलका हिसाबले कुन कुन क्षेत्रका विद्यार्थीको सहभागिता रह्यो ?

हामीले यो क्षेत्र भनेर तोकेका थिएनौं । अहिले हेर्दा देशका समग्र क्षेत्रको प्रतिनिधित्व देखियो । प्रतिस्पर्धी यो सिजनमा सहभागी ११ सयभन्दा बढी विद्यार्थीले सबै विद्यार्थीको प्रतिनिधित्व गर्छन भन्ने होइन तर यो सहभागिता उत्साहप्रद हो । सहभागी छनोट गर्दा हामीले जतिसक्दो धेरै सहभागी गराउने योजनामा हुन्छौं । पहिलो सिजनमा काठमाडौं उपत्यका विद्यार्थीमात्र सहभागी थिए । पहिलो सिजनामा ४२७ जना सहभागी भएका थिए, दास्रो सिजनमा ७००, तेस्रो सिजनमा १२७५, चौथो सिजनमा ८४०, पाँचौंमा ९७५ सहभागी थिए ।

यसको छनोट प्रक्रिया के हो ?

यो प्रतियोगितमा एसईई दिएर बसेरका जुनसुकै विद्यार्थी सहभागी हुन पाउने प्रावधान छ । विशेष गरी लाइफ कम्प्युटरमै अध्ययन गर्ने विद्यार्थी यसमा सहभागी हुँदै आएका छन्, अन्य संस्थामा अध्ययन गर्दै आएका र अध्ययन नगरेरै पनि आफ्नै किसिमले तयारी गर्दै आएका विद्यार्थी पनि प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।
प्रतियोगीहरूलाई जेठको अन्तिमसम्मको लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाउनुपर्ने हुन्छ । ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिन्छ । उत्कृष्ट २० लाई अझै वेबसाइटलाई परिमार्जन गर्न समय दिइन्छ, उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छानिन्छ ।

आईटी क्षेत्रको विकासमा राज्य क्षेत्रको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

म राजनीतिलाई पनि नजिकबाट नियाल्ने प्रयास गरेको हुन्छु । तर हेर्दा के लाग्छ भने उनीहरुलाई आफ्नो दल कसरी बलियो बनाउँ र कार्यकर्तालाई कसरी पोसौं, पदमा कसरी पुँगुँ भन्ने नै छ । त्यो भन्दा बढी देशको अर्थतन्त्र, समयानुकूल विकाश, विश्व परिभेषमा नेपालको उपस्थिति भन्ने कुरामा नेताहरूको ध्यान पुगेको देखिन्न । नेपाललाइै चिनाउनको लागि प्राचिन धरोहर, बुद्ध, सगरमाथा भन्नेमा मात्र सिमित भइयो । अन्वेषण, खोज, अनुसन्धानमा लगानी शून्य कै अवस्थामा छ । आईटी क्षेत्रलाई दिने प्राथमिकतालाई हेर्दा राज्य धेरै पछाडि नै छ । निजी क्षेत्रबाट केही प्रयास छन् तर ती पर्याप्त छैनन्, विद्यालयका कोर्षका केही आईटीका कुरा जोडिएको भएपनि विद्यार्थीले व्यवहारिक अभ्यास गर्न पाएका छैनन् । विद्यार्थीलाई रियलमै त्यसको अभ्यास गर्न जरूरी छ । शिक्षाका जिम्मेवार निकायमा रहेका व्यक्तिले पाठ्यक्रममा कसरी परिवर्तन गर्न सकिन्छ, बरु पाठ्यक्रमलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने कुरा हाम्रो आवश्यकता, उपलब्धता, माटोमैत्री बनाउन सकिन्छ । अहिले शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा बहस नै सृजना हुन सकिएन, यसका लागि जानकार विज्ञको राय लिन सक्नुपर्छ ।

 

 

Tags: