बुधवार हुने भनिएकोे इडियू अमेरिकाको कार्यक्रम शिक्षा मन्त्रालयद्वारा रोक
काठमाडौं । अनुमति नलिई कार्यक्रम गर्न लागिएको भन्दै इडियू अमेरिका भन्ने भारतीय परामर्शदाता कम्पनीले काठमाडौँको होटल मेरियटमा आयोजना गर्न लागेको कार्यक्रमलाई शिक्षा मन्त्रालयले रोकेको छ । मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा रोक लगाइएको जानकारी दिएको हो ।
स्वदेशी तथा विदेशी संस्थाले अध्ययनसम्बन्धी शैक्षिक परामर्श प्रदान गर्न शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्दा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पूर्व स्वीकृति लिनुपर्ने छ र त्यसरी पूर्व स्वीकृति लिँदा मेला वा प्रदर्शनीमा सामेल शिक्षण संस्था, विषय, तह, लागत, उपाधिको मान्यता र समकक्षता बारेको विस्तृत विवरण, मेला वा प्रदर्शनी आयोजनाको कार्यक्रम बारेको विस्तृत विवरण तथा विदेशी आयोजक भए सम्बन्धित देशको कूटनीतिक निकायको सिफारिस पत्र समेत संलग्न राखी मन्त्रालय वा मन्त्रालयले तोकिदिएको निकायसमक्ष स्वीकृतिका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको भन्दै मन्त्रालयले पत्रमार्फत ध्यानाकर्षण समेत गराएको छ ।
यसअघि नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यानले ) अनुमति नलिई कार्यक्रम गर्न लागिएको भन्दै रद्द गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । सामाजिक सञ्जाललगायतका माध्यमबाट व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्नालगायतको प्रलोभन देखाएर क्रियाकलाप सञ्चालन गरेको पाइएको भन्दै इक्यानले कार्यक्रम रद्द गर्न पत्राचार गरेको बताइएको छ।
साथै इक्यानले यस्ता क्रियाकलापहरू नेपालमा प्रचलित ऐन, कानुन तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ का विरुद्ध रहेको भन्दै ध्यानाकर्षण भएकोसमेत जनाएको थियो ।
‘नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृति एवम् प्रचलित ऐन, कानुन र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीहरूलाई भर्ना लगायतका सुविधाको प्रलोभन देखाउन भ्रामक विज्ञापन प्रकाशित र प्रसारित गरी गैह्र कानुनी क्रियाकलापमा संलग्न भएका व्यक्ति, समूह तथा सम्बन्धित कलेजका प्रतिनिधिहरूलाई प्रचलित ऐन, कानुन एवं शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ प्रावधान बमोजिम आवश्यक कानुनी कारबाही गरियोस् भनी श्रीमान् समक्ष हार्दिक अनुरोध गर्दछौं,’ इक्यानमा महासचिव दीपकराज भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।