वैदेशिक व्यापारमा गिरावटः तीन महिनामा निर्यात र आयात दुवैमा कमी

Image

काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा नेपालको कुल वस्तु निर्यातमा ६.१ प्रतिशतको गिरावट आएको छ। ३८ अर्ब ३८ करोड रुपैयाँको निर्यात गरिएको यस अवधिमा, अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा २.३ प्रतिशतको गिरावट देखिएको हो।

राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको गन्तव्यका आधारमा भारत, चीन, र अन्य मुलुकतर्फ गरिएको निर्यातमा क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतको कमी आएको छ। यद्यपि, केही वस्तुहरूको निर्यातमा वृद्धि देखिएको छ। विशेष गरी सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना लगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ। तर, जिंक शिट, पाम तेल, अलैंची, जुस र तयारी पोशाकजस्ता वस्तुहरूको निर्यातमा गिरावट आएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालको कुल वस्तु आयात पनि ४.२ प्रतिशतले घटेर रु. ३९० अर्ब ७५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा १.७ प्रतिशतको वृद्धि भएको थियो। आयातको हिसाबले भारत, चीन र अन्य मुलुकबाट क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतको कमी आएको छ। आयात भएका वस्तुहरूको सूचीमा यातायात उपकरण, सवारी साधन, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहन आदि वस्तुहरूको आयात बढेको छ भने सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण र कच्चा पाम तेलजस्ता वस्तुहरूको आयातमा कमी आएको छ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा निर्यात र आयात बीचको व्यापार घाटा ४.० प्रतिशतले घटेर रु. ३५२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटामा २.१ प्रतिशतको वृद्धि भएको थियो। निर्यात–आयात अनुपात भने ९.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १०.० प्रतिशतको अनुपातसँग तुलना गर्दा केही कम देखिन्छ।

बाह्य व्यापारको दृष्टिले, विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट निर्यातमा गिरावट आएको छ। यस्तै, जलेश्वर, कैलाली, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट आयातमा पनि कमी आएको छ।

 

 

Tags: