छैठौं राष्ट्रिय महिला अधिकार दिवसमा राष्ट्रपतिको सन्देश : महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम होस्

Image

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ नाराका साथ मनाउन लागिएको छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना दिएका छन् । सो अवसरमा उनले महिलाको हक, अधिकार सुनिश्चित गर्न योगदान गर्ने अग्रजलाई स्मरण  गरेका छन् ।

उनले वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएको सन्दर्भ उल्लेख गरेका छन्। महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास राष्ट्रपतिको छ ।

‘महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न एवं निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका छन्,’ उनले उल्लेख गरेका छन् । साथै, महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन राज्यको सहयोगको साथसाथै हामी सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको उनको भनाइ छ ।

विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि परेको राष्ट्रपतिको ठम्याईं छ । ‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिलाहरू पूर्ण रूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैमा अत्यन्त दुखद् कुरा हो । यस्ता क्रियाकलापहरूको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रहरूले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनु पर्दछ भन्ने लाग्दछ,’ उनको भनाइ छ ।


राष्ट्रपतिले भनेका छन्, ‘यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाहरूको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।’

 

Tags: