स्थानीय तथा रैथाने जातको सम्वद्र्धन गर्दै उत्पादन वृद्धि आजको आवश्यकता : कृषिमन्त्री अधिकारी

Image

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको सम्वद्र्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधिको आयात गरी उत्पादन बढाउनु पर्ने बताएका छन् । बिहीवार काठमाडौंमा शुरू भएको अन्तराष्ट्रिय बीउ सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितीका कारण गुणस्तरीय बीउ बिजन उत्पानदका लागि नेपाललाई उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने सकिने उल्लेख गर्दै यसका लागि सरकारी ,सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

मन्त्री अधिकारीले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो शर्त भएपनि जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भैरहेको उल्लेख गरे । उनले कृषि क्षेत्रमा बदलिँदो परिस्थितिको सामना गर्दै कृषि उत्पादनको वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताको लागि उन्नत जातका गुणस्तरीय बीउ बीजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिए । बीउ बिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत नेपालको खाद्य सरुक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने अपेक्षा व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,नेपाल कृषि अनुसन्धान परिषद ,नेपाल बीउ व्यवसायी संघ लगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो  ।

 

Tags: