नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त

Image

काठमाडौं– उद्योगी व्यवसायीले आर्थिक स्थायित्व हुन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताए। महासंघमा मंगलवार आयोजित राजस्व सम्बद्ध चार महानिर्देशकसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए ।

भूतप्रभावी कानून, करका दरमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजस्व पनि अपेक्षित रूपमा उठ्न नसकेको उनको भनाइ थियो । आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकको उपस्थितिमा महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तशुल्कका विषय आउन थालेको विवाद, नयाँ करका दर लगायतका विषयमा सरकार सम्मेदनशील हुनपर्ने बताए ।

यसैगरि नेपालमा सयौं वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धी कानून पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट बैंकका निर्देशक एवं सम्पत्ति शुद्धिकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भटराईले यो विषय अन्तरराष्ट्रिय स्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरी सुधार गर्दै जानुपर्ने बताए ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजस्व अनुसन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको बताए। भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरी सहजीकरण गरिने बताए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्र मैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताए। बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने भन्दै उनले केही कतै समस्या भए सुधार गरिने बताए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसँग आग्रह गरे । छलफलमा महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्वीराष्ट्रिय र एसोसिएट गरी एक सय भन्दा बढि सदस्यको सहभागिता थियो । यस वर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा परेको प्रभावबारे उनीहरूले धारणा राखेका थिए ।

 

Tags: