होटल क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको चुनौती

नेपाली पर्यटनको इतिहास केलाउने हो भने वि.सं. २००७ साल पछि मात्र यहाँ घुमघामका लागि विदेशी पर्यटकका लागि खुला गरिएको हो । यसअनुसार नेपालमा पर्यटन उद्योगको व्यवस्थित सुरुवात भएको साढे सात दशक भइसकेको छ । पर्यटनको मुख्य आधार भनेको होटल व्यवसाय नै हो । पर्यटकहरु त हवाईजहाज नभए गाडीबाट र गाडी पनि नभए हिँडेरै पनि आउन सक्छन् । तर, होटल पनि नभए कहाँ बस्ने ? के खाने ? यसैले समग्र पर्यटनको जग भनेकै होटल हो । यसैले मेरो यो आलेखमा होटल क्षेत्र केन्द्रित रहेर समग्र नेपाली पर्यटनको संकट र यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने विषय केलाउने प्रयास गर्दैछु ।
नेपालमा खुलेको पहिलो तारे होटल अन्नपूर्णले स्थापनाको ५० वर्ष पूरा गरेको पनि दशक पूरा हुनै लागिसक्यो । यसरी छ दशकको व्यवस्थित होटल अभ्यास हाम्रा लागि छोटो कालखण्ड पक्कै होइन । पछिल्लो दशकमा होटल स्थापनाको क्रम बढेको छ । तर, लामो समयसम्म नेपालमा होटलहरु सीमित संख्यामा थिए । यसको कारण अर्थतन्त्रको आकार, पर्यटक आगमनको अवस्था, हाम्रो लगानी क्षमता, नेपालीहरु आफैं विदेश गएर केही सिकेर फर्कने प्रचलनदेखि हाम्रो देशमा घरजग्गा लगायतका व्यवसायमा आएको उछाल लगायत अन्य धेरै कारणहरु हुन सक्छन् । जे होस्, होटल क्षेत्रमा आशालाग्दो लगानी भित्रिएको छ । आन्तरिक लगानीसँगै चेन होटलहरु पनि भित्रिनै क्रम बढेको छ । यसलाई हामीले सकारात्मक रुपमा लिन सक्छौं ।
नीतिगत अस्थिरताको मारमा
होटल क्षेत्रको समस्या र व्यवस्थापनको विषय प्रवेश गर्नुपर्दा नेपालमा समग्र पर्यटन क्षेत्रमै देखिएको सदावहार समस्याको चर्चा गर्नु उचित हुन्छ । हाम्रो मुलुकमा राजनीतिक परिवर्तन धेरैपटक भए पनि शासन सत्तामा स्थायित्व देखिन सकेको छैन । गठबन्धन सरकारहरु बन्ने र भत्कने क्रम सामान्य जस्तै छ । यसको असर स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा पनि देखिनु दुर्भाग्यपूर्ण छ । मन्त्री त आउँछन्, जान्छ्न् । त्यो हाम्रो वशको कुरा पनि भएन । तर, हरेक मन्त्रीलाई ‘ब्रिफ’ गर्ने त कर्मचारीतन्त्रले हो । खासगरी सचिवले हो । तर, मन्त्री फेरिएसँगै सचिव पनि फेरिने प्रवृत्तिले हाम्रो पर्यटन लगायत सबै क्षेत्रमा काम हुन नसकेको हो । जब मन्त्रीलाई ब्रिफ गर्नुपर्ने सचिव र सहसचिवहरु नै बारम्बार फेरिइरहन्छन् भने नयाँलाई बुझ्न त समय लाग्छ नै । त्यसै पनि हाम्रो देशमा मन्त्री नियुक्त हुने १५ मिनेट अघिसम्म कुन मन्त्रालयको जिम्मेवारी पाउँदैछु भन्ने मन्त्री स्वयंलाई थाहा हुँदैन भने उसले पूर्वतयारी गरेर वा यो क्षेत्र बुझेर जिम्मेवारी सम्हाल्छ भन्ने आशा गर्न सकिँदैन । कम्तिमा नयाँ मन्त्रीले त्यो मन्त्रालय बुझेको सचिव त नफेरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।
नीतिगत अस्थिरताको मार अन्य क्षेत्रमा जस्तो हाम्रो पर्यटन र होटल क्षेत्रमा नहोला तर निर्णय कार्यान्वयनमा हुने ढिलासुस्तीलाई हाम्रो ‘महारोग’ नै हो । हामीलाई नयाँ मन्त्री, सचिवलाई कुरा बुझाउने नै समय लाग्छ । जब उहाँहरु कन्भिन्स हुनुहुन्छ, सरुवा भैहाल्छ । यसैले पनि हामीले अपेक्षित उलब्धि यस क्षेत्रबाट हासिल गर्न सकेका छैनौं । सरकार र हामी व्यवसायीले पनि अपेक्षित लाभ प्राप्त गर्न सकेका छैनौं ।
स्वार्थकेन्द्रीत नेतृत्व
पर्यटन क्षेत्रमा अहिलेसम्म जति पनि मन्त्री हुनुभयो, उहाँहरुको प्रवृत्ति हेर्दा मैले के पाएँ भने उहाँहरु हामीजस्ता राजनीतिक पृष्ठभूमि नभएका र व्यवसाय मात्र गर्नेभन्दा पनि राजनीतिक पृष्ठभूमि भएका व्यवसायीहरुसँग बढी ‘इन्टरटेन’ गर्नुहुँदो रहेछ । हामीलाई व्यक्तिगत रुपमा उहाँहरुले बोलाउनु होला वा नहोला त्यसमा ठूलो विषय भएन तर हाम्रो संस्थाहरु छन् । पर्यटन क्षेत्रमा छाता संस्थाहरु छन्, ति संस्थालाई भन्दा पनि एक दुईजना व्यवसायी नै बोकेर उहाँहरुकै स्वार्थमा चल्ने मन्त्रीहरु मैले देखेको छु । पर्यटनमा जम्माजम्मी पाँचवटा मात्र संस्था छन् । ति संस्थालाई एकपटक भेटेर गुनासो सुन्नेबाहेक फलोअप कहिल्यै गरिँँदैन ।
निजी क्षेत्रमा पनि उत्तिकै राजनीति छ र हामी कमजोर भइरहेका छौं । हाम्रो यही कमजोरीमा मन्त्रीलगायत नेतृत्वले खेलिरहेको छ । पर्यटनका सबै विधालगायत यस क्षेत्रका अनुभवी व्यक्तित्वहरुको कुरा सुनेर नीति बनाऔं र निर्णय गरौं भन्ने भावनाको विकास मन्त्रीहरुमा हुनुप¥यो । कानुन बनाउने सांसदहरुमा हुनुप¥यो र कार्यान्वयन गर्ने सचिवहरुमा हुनुप¥यो । एउटाको कुरा सुनेर सयौं व्यवसायीका विधागत संस्थाहरुलाई उपेक्षा गर्नु चाहिँ ठिक भएन ।
प्रडक्टमा विविधता
हामीले पर्यटनको प्रडक्टमा विविधता ल्याउन सकिरहेका छैनौं । अहिलेसम्म नेपालमा कति पर्यटकीय प्रडक्ट छन् र तिनमा निखारता ल्याउन हामीले के गरिरहेका छौं भन्ने नै छैन । म आफैं होटल संघको अध्यक्ष हुँदा ‘नेपालः इष्ट टू वेष्ट’ भन्ने पुस्तक नै निकालेर बाँडेको थिएँ । अहिले त्यही पुस्तक पर्यटकहरुले बोकेर हिँडिरहेको देख्दा खुसी पनि लाग्छ । नेपालमा कहाँ के छ, पर्यटकहरुलाई कसरी धेरैभन्दा धेरै ठाउँमा लैजान सकिन्छ भन्नेमा हामी चुकिरहेका छौं । म नेपाल भारत उद्येग वाणिज्य संघको अध्यक्ष हुँदा ‘स्प्रिच्युअल टुरिजम’सम्बन्धी पुस्तिाका सार्वजनिक गरेको थिएँ । हाम्रा पितापुर्खाको पालादेखि आध्यात्मिक पर्यटन चलिआएको छ भने हामीले यसलाई किन अझै प्रवद्र्धन नगर्ने ?
हालैमात्र म तीनजुरेमा लालिगुराँस हेर्न गएँ, जहाँ ३६ प्रकारका लालिगुराँस पाइने रहेछन् । त्यसको प्रचारप्रसार कसरी गर्ने ? मेरो बच्चाहरुलाई समेत त्यसको बारेमा थाहा छैन । हामी नेपालीको सबैभन्दा ठूलो कमजोरी भनेकै हामीलाई काम गर्ने तरिका नै आएन । हामीले एकपटक गर्नेवित्तिकै सकियो भन्ने ठान्छौं । त्यहाँ खर्च भएको पुँजी, सम्पत्ति त्यत्तिकै खेर गइरहेको हुन्छ । एउटा प्रडक्ट भएको ठाउँमा थप कसरी विकास गर्दै जाने हो भन्ने पनि हुनुपर्छ ।
पर्यटन बोर्डको अधोगति
नेपाल पर्यटन बोर्ड दक्षिण पूर्वी एसियामा सार्वजनिक निजी साझेदारीको नमूना संस्था भनेर हामी गर्व गर्दथ्यौं । विगतमा हाम्रा विदेशी मित्रहरुले पनि यसको प्रशंशा गर्दथे । अहिले त हामीले यसको शाख पूरै गिराइसकेका छौं । कारण हो, राजनीति । हामीले यसरी राजनीतिको प्रदूषण बोर्डमा छिरायौं कि पर्यटन क्षेत्रले नै लज्जाबोध गर्नुपर्ने स्थिति बनिरहेको छ । जुन संस्थाले नेपालको प्रडक्टबारे अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्ने हो, त्यही संस्था कहिले बोर्ड मेम्बर त कहिले सीईओको विवादमा अल्झिएर बसेको छ । अर्थतन्त्र र राजनीतिलाई छुट्याउन सकेनौं भने यस्ता समस्या भविष्यमा पनि दोहोरिइरहने छन् ।
बोर्डलाई प्रभावकारी बनाएर हामीले भारत र चीनबाहेक अन्य मुलुकबाट पनि ठूलो संख्यामा पर्यटक ल्याउनसक्ने सम्भावना जीवितै छ । बोर्डसँग बजेट पनि छ र काम गर्ने अनुभव पनि छ । तर, यसलाई राजनीतिबाट टाढा राख्नचाहिँ निकै गाह्रो देखिन्छ । बोर्ड सदस्य छनोटदेखि बजेट निर्माणसम्ममा मन्त्री र राजनीतिक पार्टीकै स्वार्थ हावी भैरहने हो भने हामीले पनि यसको औचित्यबारे पुनर्विचार गर्नुपर्छ ।
भारत र चीनबाट लाभ
हाम्रो छिमेकमा रहेका दुई ठूला मुलुक नै हाम्रा लागि सबैभन्दा ठूलो स्रोत हुन् । भारत र चीन दुवै तीव्र आर्थिक विकासमा अघि बढेका छन् । ति मुलुकबाट ठूलो संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना पनि छ । मेरो अनुभवमा भारतीयहरु त जति पनि खर्च गर्ने पर्यटक हुन् भने उनीहरुलाई अझै खर्च गर्ने वातावरण बनाइनु पर्छ । यसमा पनि प्रडक्टकै कुरा आउँछ । मैले मेरै छोरीलाई ‘स्याम्पेन ब्रेकफाष्ट इन दि एभरेष्ट बेसक्याम्प’ भन्ने प्रडक्ट सुनाउँदा उनी यसरी लोभिइन् कि मैले उनलाई बर्थडे ट्रिट नै यही दिनुप¥यो । सुन्दा पनि कति आनन्द आउने कि एभरेष्ट बेसक्याम्पमा ब्रेकफाष्ट लिने भनेर । अहिलेको युवा पुस्ता एडभेन्चरमा रमाउँछ भने उनीहरुका लागि यो र योजस्तै प्रडक्टहरु किन नल्याउने ? यस्तो प्रडक्टको मार्केटिङका लागि बिहार हैन बिग सिटीमा जानुपर्छ । प्रडक्टलाई कहाँ मार्केटिङ गर्ने हेरिनपर्छ । रिलिजियस पर्यटनको मार्केटिङ साउथ इन्डियामा गर्न सकिन्छ । भारतबाट धार्मिकदेखि फिल्म पर्यटनसम्मको सम्भावना छ ।
नेपालले बहुआयामिक लाभ लिन सकिने क्षेत्रमध्ये पर्यटन क्षेत्र एक हो । प्रत्यक्ष वैदेशिक मुद्रा आर्जन, स्थानीय वस्तुको खपत तथा बिक्रीमार्फत स्वरोजगारको विकास, होटेल क्षेत्रको बिस्तारमार्फत रोजगारी सिर्जना लगायतमा पर्यटन क्षेत्रको योगदान ठूलो रहन्छ । प्राकृतिक सुन्दरता, हिमाल आरोहण, ट्रेकिङ, धार्मिक स्थल र अध्यात्मिक केन्द्रको रुपमा नेपाल परिचित छ । बिदा मनाउने उदेश्यले प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने विदेशी पर्यटकको संख्या ठूलो छ । हिमाल आरोहण र तीर्थ यात्राका लागि आउने पर्यटकको संख्या पनि बर्सेनि बढ्दै आइरहेको छ । पर्यटन पूर्वाधारमा बिस्तार, नयाँ गन्तव्यको विकास, यात्रालाई सुरक्षित, सहज र छिटो बनाउन सकेको खण्डमा नेपालमा पर्यटकको संख्या बढाउन सकिन्छ । साथसाथै उनीहरुको नेपाल बसाई लम्ब्याउन र दैनिक खर्च बढाउने वातावरण निर्माण गर्न सकेको खण्डमान पर्यटनबाट हुने आय बढाउन सकिन्छ । संख्यामा भन्दा पनि गुणस्तरीय पर्यटक प्रवद्र्धनमा नेपालले ध्यान दिनुपर्छ । छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटकको संख्या पछिल्ला वर्षहरुमा निकै बढेको छ । विषेश प्रवद्र्धनात्मक कार्यक्रम ल्याएर उनीहरुलाई नेपालप्रति आकर्षित गर्न सके छोटो समयमै पर्यटन क्षेत्रबाट धेरै लाभ लिनसक्ने अवसर प्राप्त हुनेछ ।
कसरी चल्छन् होटल ?
नेपालमा होटल क्षेत्रको विकास र विस्तार लोभलाग्दो देखिन्छ । तर, हामीले लगानी अन्धाधुन्ध गरिरहँदा ‘डिमान्ड एन्ड सप्लाई’को सिद्धान्तलाई सामान्य रुपमा पनि ख्याल गरिरहेका छैनौं । म आफैं होटल सञ्चालक भएर र होटल संघको नेतृत्व पनि सम्हालिसकेको भएर नयाँ होटललाई लाइसेन्स नदेऊ भन्न त मिलेन तर यसले जोखिम बढाएको छ । नेपालमा यति धेरै होटल भैसक्यो, तर पर्यटक कहाँबाट ल्याउने ? बाटोको अवस्था हेर्नुस् । एयरपोर्ट सञ्चालनको गति हेर्नुस् । पर्यटक कहाँबाट आउँछन् ? लगानी गर्नेको लगानी भैसक्यो, अझै पनि लाइसेन्स भटाभट दिइरहेकै छ । तर होटल खोल्नेले कहाँबाट पर्यटक ल्याउँछ भनेर कसैले सोध्दैन । न होटल बनाउनेले भरपर्दो बिजनेस प्लान नै बनाएको हुन्छ ।
होटल प्रडक्ट हो तर होटलमा बस्ने पर्यटक ल्याउने पूर्वाधार छैन । होटल सञ्चालनको लागत पनि बढिरहेकै छ । दक्ष जनशक्ति धमाधम बाहिर जान लागे । यहाँ दक्ष म्यानपावर पाउनै गाह्रो भइसकेको छ । होटल म्यानेजमेन्ट पढेका व्यक्तिहरुलाई यहाँ सिकाएर काम गर्नसक्ने बनायो तर उनीहरु विदेश गइहाल्छन् । यसले बढी पैसा तिरेरै भए पनि उनीहरुलाई राख्नु परिरहेको छ । पर्यटकबाट आम्दानी हुने अनुपातमा हामीले पनि कर्मचारीलाई तलब दिने हो तर होटलको संख्या नै धेरै भएपछि स्वाभाविक रुपमा हामीले बढी शुल्क लिन सक्दैनौं र त्यसको असर कर्मचारीको तलबमा पनि पर्न जान्छ ।
नेपालमा पर्यटकको संख्या सन् २०१९ को जति अझै पुग्न सकेको छैन तर यो चार वर्षमा थपिएका होटलको संख्या हेर्ने हो भने डिमान्डभन्दा कयौं गुणा बढी सप्लाई भैरहेको छ । यसले निश्चय पनि नयाँ होटलबीच कसले सस्तोमा सेवा दिने भनेर अस्वस्था प्रतिस्पर्धा चल्नेछ र त्यसको मारमा हामी पुराना पनि पर्नेछौं ।
चेन होटलबाट सुधारको अपेक्षा
नेपालमा चेन होटलहरु खुल्ने क्रम पनि बढिरहेको छ । निश्चय पनि यो सुखद् पक्ष हो । चेन होटलमार्फत पर्यटक पनि स्वभाविक रुपमा बढ्नेछन् । चेनमार्फत पनि पर्यटकहरु आउनेछन् । चेन होटलका कारणले होटलमा श्रमिक र व्यवस्थापकबीचको दूरी पनि घट्नेछ । यो सुखद् कुरा हो । नयाँ होटलमा ट्रेड युनियनहरु हुँदैनन् र कर्मचारीको सामाजिक सुरक्षाको दायित्व पनि पुरानोमा भन्दा कम नै हुन्छ । चेन होटलले करारमा काम गराउँछन् र क्षमता तथा उत्पादकत्वका आधारमा पे गर्ने भएकाले राम्रो काम गर्ने प्रतिस्पर्धा सिर्जना हुन्छ । चेन होटलले स्थानीय होटलमा पनि राम्रोसँग काम गर्ने प्रवृत्तिको विकास हुनेछ । चेन होटलमार्फत नेपालको स्थानीय मौलिकता हराउँछ कि भन्ने चिन्ता धेरैमा रहेछ । तर, चेनको विशेषता भनेकै स्थानीयपनालाई प्राथमिकता भन्ने नै छ । त्यसमाथि राज्यको नीति पनि नेपाली खानालाई प्रवद्र्धन गर्नैपर्छ भन्नेमा छ । यसकारण चेन होटलको आगमनले नेपालमा सुखद् सुरुवात हुनेछ ।
होटल उद्योग नै हो
सरकारले होटललाई उद्योगको मान्यता दिन कञ्जुस्याइँ गरिरहेको छ । हाल पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगका रूपमा मान्यता दिइसकेको अवस्था छ । हाम्रो देश नेपालले भने अहिलेसम्म औपचारिक रूपमा यो विषयमा निर्णय गरिसकेको छैन । सरकारमा बस्नेहरु सकारात्मक हुनुहुन्छ तर निर्णय भएको छैन । होटलमार्फत हामीले रोजगारी सिर्जना, क्षमता अभिवृद्धिदेखि ठूलो परिमाणमा विद्युत् खपत तथा स्थानीय उत्पादन खरिद गरेर किसानसम्म लाभ बाँडिरहेका छौं । तर, अझै पनि उद्योगले जस्तो विद्युत् खपतमा छुट पाउन सकेका छैनौं । निकासीकर्ताले सामान पठाएर कमाउने डलर हामीले यहाँ स्थाानीय उत्पादनको खपत र स्थानीय जनशक्ति उपयोग गरेरै भित्र्याइरहेका छौं । यसकारण होटल क्षेत्र भनेको उद्योग नै हो भन्नेमा सन्देह छैन र यसले अन्य उद्योगसरह सुविधा पाउनु न्यायोचित देखिन्छ ।
(राणा होटल संघकी पूर्व अध्यक्ष हुन्) नेपाल आर्थिक पत्रकार समाज (सेजन)को स्मारिका ‘अर्थनीति’बाट