गुडेकै छ गृहमन्त्री लामिछानेको ‘ब्लु बस’

Image


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत वर्ष साउन १७ मा शुरु गरेको ‘ब्लु बस’ले चितवनमा महिलाका लागि निःशुल्क बस सेवा अहिले पनि निरन्तर छ ।

गत वर्ष वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका उनले एक सयौं दिनमा निःशुल्क बस सेवा शुभारम्भ गरेका थिए । महिलाका लागि निःशुल्क सञ्चालन गरिएको बसमा वृद्ध अवस्थाका पुरुष र पुरुष बच्चालाई पनि सेवा दिँदै आएको बसकी कर्मचारी आरती लामाले जानकारी दिइन् ।

उनले बसमा रहेका सुविधा यथावत नै रहेको जानकारी दिइन्। सामान्य यात्रुका अतिरिक्त बसले अहिले अनाथालयका बच्चालाई स्कुल ल्याउने, पुर्याउने काम पनि गर्दै आएको उनको भनाइ छ । ‘अनाथालयका १५ जना बच्चा छन्, तिनलाई ल्याउने, पुर्याउने काम पनि हामीले गर्छौं’ उनले भनिन्, ‘बिहान ७ बजेबाट सेवा दिन शुरु गर्छौं, साँझा ७, साढे ७ बज्छ ।’

बसले निशुल्क सेवा दिँदै आएको र गाडीका लागि चाहिने डिजल, कर्मचारीको तलब, मर्मत खर्च, गाडीको भाडा साहुले नै व्यवस्थापन गर्दै आएको उनले बताइन् । साहु भन्नाले को ? गृहमन्त्री रवी लामिछाने ? रोकिँदै उनले भनिन्, ‘होला ।’

गृहमन्त्री लामिछानेले आवश्यकताका आधारमा बस थप्ने बताएका थिए तर अहिले एउटामात्र बसले सेवा दिँदै आएको लामाले बताइन् ।

 

Tags: