शिवपुरीका पहिरो पीडितले पाए लायन्सको सहयोग

Image

नुवाकोट– लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले नुवाकोट शिवपुरी गाउँ पालिका वडा नम्बर ५ का पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ। गत हप्ताको अविरल वर्षाको कारण शिवपुरी गाउँपालिका अन्तरगत  वडा नम्बर ५ को विभिन्न क्षेत्रमा भएको क्षतिको कारण विस्थापित भएका १६१ परिवारलाई खाद्यान्न वितरण गरिएको हो।

पहिरो पिडित प्रत्येक परिवारलाई एक बोरा चामल, नुन, तेल, चिउरा, मसला लगायतका सामाग्रीहरु वितरण गरिएको लायन्स फुडबैक चिफ जनार्दन फुयालले बताउनुभयो । फुयालका अनुसार मानवीय सेवाभावले लायन्स क्लबको अन्तर्राष्ट्रिय इमेर्जेन्सी फण्डबाट प्राप्त सहयोग लिएर यस क्षेत्रमा आएको हो।
पछिल्लो समय लगातारको वर्षाले भएको क्षतिबाट उत्पन्न परिस्थितिमा पीडित बनेका परिवारको पीडालाई न्यूनीकरण गर्ने उदेश्यले खाद्यान्न सहयोग लिएर यस क्षेत्रमा आएको लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रिक्ट कोर्डिनेटर अनुज कुमार श्रेष्ठले बताए ।

मानवीयता, पहिलो प्राथमिकता भन्ने अवधारणा अनुसार मानवीय सेवामा लायन्स क्लब सकृयतापूर्वक लागिरहेको छ। बाढी पहिरो, आगलागी, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट  उत्पन असहज अवस्थामा लायन्स क्लब उद्धार कार्यमा जुट्दै आइरहेको सुनेको तर आज आफैले अनुभव गर्न पाएको वडा अध्यक्ष रेशम बहादुर मोक्तानले बताए । आफ्नो वडामा परेको विपत्तिमा साहारा दिन आएको लायन्स प्रति उनले धन्यवाद समेत दिए।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गाना, प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डे, दोश्रो भाइस गभर्नर सूर्य केसी लगायतको लायन लिडरहरुको उपस्थिति थियो । लायन्स क्लबको अन्तराष्ट्रियको एलसिआईएफ इमेर्जेन्सी फण्डबाट प्राप्त ग्रान्टमा लायन्स फुडबैकको समेत सहभागीतामा खाद्यान्न वितरण गरिएको लायन्स क्लब डिस्ट्रक्ट एलसिआइएफ कोर्डिनेटर रामहरि सिलवालले जानकारी दिए। सिलवालका अनुसार काठमाडौं तार्केश्वर नगरपालिका क्षेत्रमा ३८ परिवार र काभ्रे जिल्ला अन्तरगत विभिन्न प्रभावित क्षेत्रमा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेकोछ।

Tags: