नेपाल टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, प्रति शेयर नाफा ४१ रुपैया ४४ पैसा

Image

काठमाडौं – नेपाल टेलिकमले चालु आर्थिक वर्षको  तेस्रो त्रैमासिक अवधि अर्थात २०८० चैत मसान्तसम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार  रुपैयाँ आम्दानी गरेको छ । तर उक्त आम्दानी गतवर्षको सोही अवधिको तुलनामा भने ६ दशमलव ०३ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा  ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको बताइएको छ ।

टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ रहेको बताइएको छ । गत आवको सोही अवधिको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ थियो ।

टेलिकमका अनुसार यो अवधिसम्मको खुद मुनाफा ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत आ.व. को सोही अवधिको खुद मुनाफा ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ थियो ।     कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४१.४४ रहेको बताइएको छ ।

टेलिकमले ओटीटी सेवाको बढ्दो प्रयोग, लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कारण आम्दानी घटेको बताएको छ ।

सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर परेको र  बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ५० करोड ७४ लाखले कमी  भएको बताइएको छ ।

 

Tags: