भरतपुरको नीति तथा कार्यक्रम : कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने

Image

चितवन – भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो ।

महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइने बताइएको छ ।

संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याईने प्रमुख दाहालले बताइन्।

संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिनेछ ।
खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्स परिचालन गरिनेछ ।

महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण कार्यलाई निरन्तरता दिइनेछ। ।संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिनेछ । साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं २४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजीक्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने छ । संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं १५ मा संघीय शिक्षक अस्पताल र वडा नं १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आ.व. २०८१/८२ मा निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।

सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गरिनेछ । केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी स्र्टोम वाटर ड्रेनेज निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

Tags: