प्रचण्डको स्वीकोक्ति, ‘हामीले काम गर्न नसकेकै हो, अब गर्छौं भनेर जनतामा जाऔं’

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामाझ गएर पार्टी जनताको काममा प्रतिवद्ध रहेको विश्वास दिलाउन आग्रह गरेका छन् । उनले कतिपय अवस्थामा पार्टी सच्चिन आवश्यक रहेको भन्दै आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिए ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।
उनले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको स्वीकारे । उनले भने, ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनतामा जानुस् ।’ यसपटकको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रको जितको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले दाबी थियो ।
नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ई. नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।